आवरण र अस्तित्व–दिनेश अधिकारी

विआरटि नेपाल सम्बाददाता

Published on August 17, 2016 at 11:14 am

dinesh adhikari

 

थुक्क !
यस्तो देशमा पनि बस्नु ?
धिक्कार छ !
यस्तो देशलाई पनि के देश भन्नु ?
मैले यसै भने
तिमीले यसै भन्यौ
हामीले यसै भन्यौं
र, निरन्तर निरन्तर
यो देशलाई सरापी रह्यौं
यसका विरुद्ध तथानाम गालीहरु फलाकीरह्यौं
हिंड्यौं—
कतिले त यो देश छोडेर पनि हिंड्यौं
हिंड्यां—
कति त खुशी हँदै शरणार्थी हुन पनि हिड्यौं

फाटेको छ मेरो दिमागबाट तुवाँलोको एउटा जङ्गल
र, अहिले म
यो देशलाई पानी जस्तै कन्चन देख्न थालेको छु
कपुतहरुले जत्ति नै कोपेर पनि
पानीमा घाउ लाग्दैन भन्न थालेको छु
दुष्टहरुले जति नै सरापे पनि
भावनाको पर्खाल ढल्दैन भन्न थालेको छु
थालेको छु—
आफूभन्दा पहिले यो देशलाई सोच्न थालेको छु
थालेको छु—
आमालाई भन्दा पहिले यो देशलाई ढोग्न थालेको छु
मेरो आँखाभरि सारिदिएको छ
यो देशले आफ्ना सपना
र, म अहिले
त्यही सपना भएर ब्यँुझन खोजिरहेको छु

हो, देशको नाममा
सत्तासीनहरुले
घरि निकम्मा नीतिले यसलाई बाँधे
घरि घिनलाग्दो व्यहारले यसलाई गाँजे
र, हामी भने
कपुतहरुको त्यही अराजकतालाई देश भनेर हिंडिरह्यौं
त्यही निकम्मा नीति
र, अधमहरुको त्यही षडयन्त्रलाई देश भनेर बुझिरह्यौं
छुट्याउनै सकेनौ हामीले
आवरण र अस्तित्व
र, आँखा चिम्लेर छलीहरुका पछाडि दौडीरह्यौं
के तिमी अझै पनि यो देशलाई गाली गर्छौ ?
भो ! अब अबेर नगर
र, निस्क तिमी पनि
आफ्ना काला कर्तुतहरुलाई
देशको पर्यायका रुपमा अथ्र्याउदै आएको
सत्ताको यो षडयन्त्रबाट बाहिर निस्क !
देश भनेको झलमल्ल उज्यालो हो
तिमी पनि आफ्नो मनको उज्यालो पस्क !
मसंग सोध्छौ भने त–
आफू मरेपछि पनि
हामीलाई बँचाइ राख्ने भूगोलको नाम हो देश !
सक्छौ–
यसको महानतालाई प्रणाम गर
सक्दैनौ–
बिन्ति छ यो देशको अपमान नगर !
बिन्ति छ यो देशको अपमान नगर !
××××

Loading...

यसमा तपाइको मत