यसकारण बढीरहेका छन् पहाडी मार्गमा यातायात दुर्घटना, बिशेषतः सुदूरपश्चिममा

विआरटि नेपाल सम्बाददाता

-किशोर खड्का

आज देशका दुई पहाडी स्थानमा ठूला बस दुर्घटना भए । काभ्रेमा भएको भयावह बस दुर्घटनाको लगत्तै सुदूरपश्चिमको बैतडी जिल्लामा भएको बस दुर्घटनाले थप मर्माहत बनायो । साना तिना दुर्घटना त दिनहु नै हुने गरेका छन् तर आज भएका दुर्घटना, दुर्घटनामा भएको मानवीय क्षति अकल्पनीय र अत्यन्तै पिंडा दायक छ ।

सुदूरपश्चिममा मात्र नभई देशका अन्य पहाडी मार्गमा प्रत्येक बर्ष आजको झैं गाडि दुर्घटनाको समाचार प्रमुख समाचार बन्दछ । दुर्घटना पछि घाईतेको उद्धार, उपचार त हुन्छ तर यो दुर्घटना कुन कारणले भयो, भोलीका दिनमा न्यूनिकरण गर्न के गर्नुपर्ला भन्ने ध्यान भने कमै गएको देखिन्छ ।

हुन त मैले देशका धेरै भूभागको यात्रा धेरै पटक गरेको छु तर सुदूरपश्चिमका पहाडी मार्गहरुमा अझै बढी । बर्षमा दुई तीन पटक कम्तिमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा कुदेकै हुन्छु । त्यो भेगमा यात्रा गरेको निकै अनुभव छ म सँग सायद यहाँहरुसँग पनि । यदी तपाईले पनि यी पहाडी जिल्लाहरुमा यात्रा गर्नु भएको छ भने कसरी गर्नुभएको थियो, झल्झली सम्झनु भएको होला ।

केहि समय अगाडि नेपाल पर्यटन बोर्डमा काम गर्ने एक अधिकारी लगायत हामी पर्यटनमा क्रियाशिल ब्यक्तित्वहरु बझागं पुगेका थियौं । जाने बेलामा निजी गाडी भाडामा लगिएको थियो, केहि भएन । फर्कदा हाम्रो समुह चैनपुरबाट खप्तडतिर लाग्ने भयो उनि भने धनगढी । धनगढी आउन सार्बजनिक बस मात्र एउटा बिकल्प थियो । त्यही गाडिमा चढे उनी, भोलीपल्ट फोनमा कुरा भयो । उनि डडेलधुरा नै झरेर भोलीपल्ट अर्कै ब्यवस्था गरेर धनगढी पुगेछन् । सोधें, यात्रा कस्तो रहयो ? हास्दै उनले भने, म त अगाडि यात्रा गर्न नसक्ने भएर डडेलधुरा नै झरे । गाडि हुईकाएको देखेर कहाँ खसाल्छ भन्ने पिर गर्दै डडेलधुरा पुगें, त्यति मात्र होईन, पाँच पाँच मिनेटको दुरीमा रोक्दै प्यासेन्जर हाल्न नि भ्याएको छ । बोमिट त्यत्तिकै गरेका छन्, म ढोका नेरको सिटमा बसेको थिए, कोहि आएर जुत्ता नै कुल्चन्छन्, कुरै नगरौं यात्राको । यति सुनेपछी मैले ल डडेलधुराबाट राम्रोसँग जानु भनेर हास्दै फोन राखें, किनकी त्यो क्रम र चलन एक दिनको होईन सधैभरको हो । उनलाई पहिलो पटक भएर नँया लाग्यो होला, म त यस्तै भोग्दै कयौंन पटक हिडेको हिड्यै छु ।

धनगढीको गोदावरीबाट उकालो लागेपछि बाटोमा करिब ४÷५ सय वटा मान्छेको सम्झना स्तम्भ राखेको देखिन्छन् । सम्झदा नै कहाली लाग्ने यो दृष्य आम सुदूरपश्चिमेलीहरुको भोगाई हो । चाडबाडको बेलामा बस दुर्घटनाका समाचार देशमा धेरै बन्छन् तर सुदूरपश्चिममा गाडि दुर्घटना हुन कुनै चाडबाड कुर्नु पर्दैन । किनभने त्यहाँको बाटो, यात्रा गर्ने शैली नै दुर्घटना निम्त्याउने किसिमको छ ।

यहाँनेर मैले केहि प्रमुख कारणहरु देखेको छु यसरी दुर्घटना बढि रहनुमा:

कारण नं १. धनगढीबाट पहाड तर्फ कुदने कुनै पनि बसमा प्यासेन्जर त खचाखच हुन्छन नै साथसाथै गाडिहरु मालबाहक ट्रक झै सामानले खादिएर लगिएका हुन्छन् । गाडिको हुडमा सामान गाडिको साईज भन्दा अग्लो गरि थुपारिएको हुन्छ । त्यति मात्रै नभएर बस्ने ठाउँमा पनि गाडिको सिटभन्दा माथि पुग्ने गरि हिडने प्यासेजमा सामान थुपारिएको हुन्छ । जसको कारण ओभरलोड भएर गाडि एक्सिडेन्ट बढ्ने सम्भावना प्रबल हुने नै भयो ।

कारण नं २, यात्रुहरु पनि गाडि खचाखच भरिई सक्दा पनि चढ्न खोज्छन् जसमा गाडिबालाहरुको कुनै नाई नास्ति हुदैन । उनिहरुले त पाए सम्म भेडा बाख्रा झै थुपार्न खोज्छन । तर राज्यको नियमन गर्ने निकाय ट्राफिक कहाँ जान्छ ? सय रुपिया हातमा थमाएको भरमा ट्राफिकले गाडिको अवस्था नहेरी छोडिदिने ? करिब २ बर्ष पहिला हामी गोरखा जानको लागि हिडेका थियौ । गाडि रिर्जभ जस्तै थियो, खाली लमजुगं जाने गाडि रिजर्भ गरिएर गोरखा लगिएको थियो । थानकोटको चेक पोष्टमा गाडि रोकियो । ट्राफिकले गाडिको डाईभरलाई कागचपत्र मागे, उसले दियो । कागचपत्र सबै ठिकै थिए, तैपनी ति ट्राफिक महोदयले ति कागजात बोकेर गाडिको पछाडि पट्टि गए । ड्राईभरले आफनो सहयोगिलाई रु १०० थमाएर कागचपत्र लिन पठाए । हामी सबैलाई यो कुरा थाहा भईहाल्यो । बसको सहयोगीले भन्यो अहिले त्यति दिएन भने कुनै न कुनै बहाना बनाएर गाडिलाई पोष्ट भित्र लैजान भन्छन, किन चाडबाडको बेलामा झन्झटो गरिरहने, १०० रुपियाले काम बन्छ भने । त राजधानी जहाँ नियमनका हजारौ आखाँहरु परेका हुन्छन त यस्तो छ, पहाडमा त ट्राफिक देख्नै गाहो हुन्छ त्यँहा झन के हुने ? त्यहाँ ट्राफिकको लापरबाहि र त्यो बानी बिरुद्ध कसले बोल्ने ?

कारण नं ३, सुदूरपश्चिमका छोटे मोटे ब्यापारीहरु सामान ट्रकमा लगेर जादैनन । यात्रु बोक्ने गाडिलाई नै ट्रक बनाउछन् । त्यसपछि गाडि ओभरलोड हुने नै भयो ।

कारण नं ४, चालकको लापरबाहीलाई पनि कम आँकलन गर्न सकिदैन । एक पटक म बझागंबाट धनगढीका लागि दिवा सेवामा चढेको थिए । बिहान ६ बजे चल्ने भनेको गाडि साढे ७ बजे चैनपुरबाट हिड्यो । १ घण्टा सुनकुडामा फोकटमा रोकेर राख्यो । पछि त त्यो पहाडको स्यानो एक लेनको बाटोमा रेल कुदे सरी कुदाउन थाल्यो । हर्न बजाउन पनि कञ्जुस्याई गर्ने, प्रति घण्टा बढिमा २५ किलोमिटर स्पिड भनेको ठाउँमा पनि ५० कि.मि सम्मको स्पिडमा कुदाउने, घुम्तिमा पनि जबरजस्ती कोच्ने । उताबाट अर्को गाडि आयो भने बे्रक यसरी लगाउँछन मानु बस ठोक्किन मात्र बाँकि हुन्छ । धनगढी पुग्दा सम्म मनमा ढयाग्रो ठोक्यो । अनि दुर्घटना नभएर के हुने ? सामान्यतया स्पिडमा बझागंबाट धनगढी पुग्न प्राईभेट गाडिमा ९ घण्टा लाग्छ तर सार्बजनिक बसले चाहयो भने ८ घण्टामै धनगढी पु¥याई दिन्छन ।

कारण नं ५, अधिकांश गाडिहरु नयाँ भएको बेलामा बजार तथा तराई क्षेत्रमा कुदाईन्छन् । जब गाडी पुराना र थोत्रा हुदै जान्छन्, ति गाडिहरुलाई पहाडि रुटमा पठाईन्छन् । जसको कारण बिच बाटोमा गाडि बिग्रने समस्या त छदैछ, अनियन्त्रित हुने, धेरै लोड थेग्न नसक्ने हुन्छन, जसको कारण पनि बढ्दो दुर्घटनाको कारणलाई लिन सकिन्छ ।

अब हामीले यि दुर्घटनाको कारण खोजेर समाधान तर्फ पनि लाग्नु बेस हुन्छ । मैले पटक पटक यातायात समिती र जिल्लाको सिडिओलाई भन्ने गरेको छु, यसरी ओभरलोड भएर गाडि कुदाउन नदिउ । यसले एकातिर प्यासेञ्जरको जिवन त जोखिममा पर्छ नै अर्कातिर सुदूरपश्चिम आउने बाहिरको मान्छेले के मुल्याकंन गर्छ ? हामी पर्यटनको कुरा गर्छौ, हाम्रा यस्तै ब्यवहार र शैली ले पर्यटक सुदूरपश्चिम भित्रन्छन ? उनिहरुले सुदूरपश्चिमको बिषयमा बाहिर दिने संदेश कस्तो हुन्छ ? यो पक्ष हामी त्यहाँका पर्यटन सरोकारवाला, ब्यवसायी, बस ब्यवसायी समिती, प्रशासन, नेता तथा राजनीतिक दलका प्रतिनिधीहरुले सोच्ने कि नसोच्ने ?

यहाँनेर हामी प्यासेञ्जरले पनि ध्यान दिनु पर्छ । पहाडको बाटो हिडने अधिकांश यात्रुहरु गाडिमा बान्ता गरिरहेका भेटिन्छन् । बान्ता गर्न हातमा प्लास्टिकको थैलि दिएको भएपनि उनिहरु कि त झ्यालबाहिर टाउको निकालेर बान्ता गर्छन कि गाडिको प्यासेजमै बान्ता गर्छन । त्यसले गर्दा अरु बान्ता नहुने प्यासेञ्जरलाई पनि यो प्रभाव पर्छ र गाडिको स्टाफहरुले प्यासेञ्जरलाई भेडा बाख्रा झै ब्यवहार गर्ने गर्दछन् ।

अन्तमाः
यातायात समितीले सबैभन्दा पहिला यो बिषयमा सजग हुन जरुरी छ । ड्राईभरको सानो लोभले प्यासेञ्जरको जिवन खतरामा पार्नु पक्कै पनि राम्रो कुरा होईन । यसकालागि समितीले नियमन गर्नु र कडा ब्यवहार गर्नु जरुरी देखिन्छ । पहाडको बाटोमा ट्राफिक नभएपनि ठाउँठाउँमा प्रहरी प्रशासन र चौकि त हुन्छन् । यिनीहरुले भए पनि यि पक्षहरुको अनुगमन गर्नु आवस्यक छ । ब्यापारीहरुले पनि गाडिमा सामान खादेर लैजानुको सटा धेरै जना मिलेर मालबाहक गाडी भाडामा लिएर सामान ओसार पसार गर्नु उर्पयुक्त हुन्छ । प्यासेञ्जरहरुले पनि सिट नपाएर उभिने, हुडमा जाने गर्नु हुदैन, त्यसो गर्दा आफनो लगायत अरुको जिउ ज्यान पनि जोखिममा पर्न सक्छ । यो परिवेश देशका अन्य स्थान र दुर्घटनाका कारण सुदूरपश्चिमको जस्तै हुन भने पनि अन्य क्षेत्रमा पनि यि सुझाव काम लाग्ने हुन सक्छन् ।
यसर्थ सर्तक रहौ, सुरक्षित यात्रा गरौ ।

 

Published on August 15, 2016 at 8:55 am

Loading...

यसमा तपाइको मत