एन.आर.एन. अमेरिका नेपाली समुदाय प्रति कति जिम्मेवार छ ?

विआरटि नेपाल सम्बाददाता

सबैलाई अभगत भएकै कुरा हो अधिकांश नेपालीहरू रोजगारीका लागी विदेशिएका छन् र पछिल्लो समयमा खाडी मुलुकहरू सँगै अमेरिका, युरोप लगायत एसियाका अन्य विकसित देशहरूमा समेत नेपालीहरूको बाख्लो उपस्थिति छ । यसैलाई मध्यनजर गरेर हुनुपर्छ डेढ दशक अगाडी देखि विदेशमा रहेका नेपालीहरूको सामूहिक हितका लागी काम गर्ने ध्येयका साथ गैर आवासीय नेपाली सङ्घ( एन.आर.एन.ए.) को स्थापना भएर कार्यरत रहेको छ र हाल सम्म ७४ वटा राष्ट्रहरूमा यसका शाखाहरु विस्तार भएको पाइन्छ ।

यसरी हेर्दा विश्वभरि यसको सञ्जाल फैलिरहेको छ जसलाई नेपाल सरकारले समेत विशेष महत्वका साथ यसका गतिविधिहरूमा ध्यान पुर्याएको पाइन्छ । यसो त विदेशमा रहने गैर आवासीय नेपालीहरूले नेपालको हरेक आपतविपत एवं आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउँदै पनि आएका छन् । नेपालमा विभिन्न विकासका पुर्वाधारहरुमा लगानी एवं उद्योगधन्दाहरुमा व्यक्तिगत एवं सामूहिक लगानीमा योगदान दिँदै पर्यटन उद्योगको प्रवर्धनमा समेत योगदान दिएको पाइन्छ ।

यस्तै भूकम्पको बेला एवं भूकम्प पछिको पुनर्निमाण कार्यक्रममा साथै ऊर्जा क्षेत्रको लगानीमा समेत यस संस्थाले विशेष योगदान पुर्‍याउन तत्परता देखाएको सबैलाई अभगत नै छ । यो संस्था नितान्त सामाजिक एवं ग़ैरसरकारी निकाय भएर पनि विभिन्न तवरबाट विभिन्न क्षेत्रमा लगानी प्रवाहित गर्न व्यक्ति एवं व्यवसायीहरुलाई उत्प्रेरित गरिरहेको छ । यस्तो कार्यलाई सर्वत्र प्रशंसा पनि गरिरहेको पाइन्छ ।

त्यसो त यो संस्थाहरूमा सामान्य व्यक्तिहरूको पहुँच भन्दा पनि चल्ताफुर्ता व्यक्तिहरू खासगरि व्यापारिक एवं व्यावसायिक क्षेत्रमा लागेका व्यक्तिहरू र राजनैतिक दलका नजिक रहेका पहुँचवाला व्यक्तिहरूको पहुँच बढिरहेको छ र तिनीहरुकै पेरिफेरिमानै संस्था सञ्चालन भइरहेको सामान्य नागरिकहरूको बुझाई पनि रहेको छ । यस कुराको सत्यता समेत नभएको भने हैन तथापि एक किसिमको आर्थिक हैसियत नबनाएका व्यक्तिहरूको पहुँच यस्ता संस्थाहरूमा पुग्नु कठिन कार्यनै हो किनकि हातमुख जोर्ने काम गरेर विदेशमा बस्नेहरुलाई यस्ता संस्थामा समय दिन र जिम्मेवारी वहन गर्न फलामको चिउरा साबित हुन्छ ।

यसो भनिरहँदा सामान्य व्यक्तीहरुकै समस्याहरू र उचित आवाजहरुलाई नजर अन्दाज गर्ने काम भने युक्तिसंगत कदापि हुँदैन । विशेष गरी युरोप, अमेरिका लगायतका मुलुकमा स्थायी बसोबास गरिरहेका नेपालीहरूलाई ती देश भित्रै र आफू जन्मेको वा आफ्ना पुर्खाको थाकथलो नेपालमा समेत के कसरी सामाजिक योगदान पुर्‍याउन सकिन्छ त्यसबारे जोड दिनु पर्नेमा कतिपय अवस्थामा नेपाली राजनीतिलाई भित्राएर आपसमा खिचातानी गर्ने र विभिन्न सम्मेलनका नाममा भोजभतेरमै अधिकांश समय र पैसा खर्च गर्ने काम समेत हुने गरेका साथै कतिपय व्यक्तिहरू नजानिदो ढङ्गले संस्थाको दुरुपयोग गरी कमाउ धन्दामा लागेको पनि बेलाबेला बजारमा हल्ला चलेको सुनिन्छ ।

वास्तवमा एन.आर.एन. ले विदेशमा रहेका नेपालीहरूको सुव्यवस्थितरुपमा काम गरेर जीवनउपयोगी जीवन जिउन आवश्यक सार्थक प्रयासहरुमा ध्यान नदिएको केवल नेपालमा राजनीतिक दल र नेताहरूको नजिक रहेर केही सामाजिक क्षेत्रका कामहरू गर्न मात्र अग्रसर भएका टिकाटिप्पणीहरु सुन्नमा समेत आएको पाइन्छ । हुनत: यसका अध्यक्ष शेष घलेले समेत सङ्गठनका आधारभूत कुराहरूमा आवश्यक परिवर्तन गर्नुपर्ने कुरा उठाएको पनि सुनिन्छ र अव केही दिन पछि अमेरिकामा हुँदै गरेको नवौ क्षेत्रीय सम्मेलनमा समेत आवश्यक कुराहरू अवश्य उठ्लान् अर्थात् नयाँ भिजन र कार्यक्रम सहित यो संस्थाको गतिविधि अगाडी बढ्ला ।

विशेषगरि विदेशमा कार्यरत नेपालीहरूको विभिन्न किसिमका रोजगारीका समस्या, दुर्घटना एवं आपतविपत पर्दाको अवस्थामा सहयोग जुटाउने एवं सम्बन्धित पक्षसम्म आवाज उठाउने सवालमा, सहजढंगले उनीहरूको कमाइलाई स्वदेश एवं विदेशमै लगानी गर्ने सम्बन्धमा आवश्यक मार्ग निर्देशन गरिदिने एवं आवश्यक सूचना आदानप्रदान गर्ने भरपर्दो संस्थाको रूपमा एनआरएनए ले काम गर्नु पर्छ । साथै अमेरिका, क्यानडा, बेलायत एवं अन्य युरोपियन मुलुकहरूमा रोजगारीको अवसर, व्यावसायिक लगानी, असाईलम सम्बन्धी, स्वास्थ बिमा, सूचना केन्द्र, काममा सुरक्षित हुने उपाय सम्बन्धी अभिमुखीकरण, नेपाली भाषा, कला-संस्कृति संरक्षण गर्न भाषा स्कुल सञ्चालन एवं सांस्कृतिक केन्द्र स्थापना लगायत नेपाली समुदायमा देखिने विभिन्न समस्याहरुलाई हल गर्न सहयोगी भूमिका खेल्नु पर्ने हुन्छ ।

सामान्य व्यक्तिले पनि आफ्ना समस्याहरू सहजरुपमा राख्न मिल्ने गरी हरेक देशका विभिन्न ठाउँहरूमा सञ्चार सञ्जाल तयार गरिनु पर्छ अर्थात् सामुदायिक केन्द्रको सञ्चालन हुनुपर्छ । यसो त अमेरिकामा एन.आर.एन. अमेरिका पनि आफ्नो कार्यमा लागीपरेकै होला तर पनि आमरुपमा अमेरिकामा बस्ने नेपाली समुदायलाई परेका तत्कालीन एवं दीर्घकालीन समस्या हल गर्न खासै ध्यान पुर्याएको पाईदैन । अमेरिकामा रहेका एनआरएन का विभिन्न च्याप्टरहरुले एकादुई बाहेक खासै उल्लेखिय काम गरेको पाईदैन तथापि समय समयमा हुने सम्मेलन, गोष्टी एवं भेलाहरुमा भने नेपालबाट विभिन्न क्षेत्रका व्यक्तिहरू बोलाएर कार्यक्रम गर्ने, सम्मान गर्ने परम्परागत नेपाली शैलीलाई निरन्तरता भने दिएको पाइन्छ ।

अमेरिकाको एनआरएन ले नेपालको दैवि प्रकोपमा सक्दो योगदान पुर्याएको छ कतिपयले व्यक्तिगत लगानी समेत नेपालमा विभिन्न व्यावसायिक क्षेत्रमा गरेका छन् तथापि अमेरिका भित्र भने राजनीतिक गुटहरुको र झुण्डहरुको पछि लागेर नै नेपालका नेताहरू र राजनैतिक दलहरूको नजरमा महान् व्यक्ति कहलाउने दौडमा भने कहिकतै कसुर बाँकी राखेको पाईदैन । अझै समग्रमा भन्दा जसको हातमा बढी पैसाको चलखेल गर्ने हैसियत छ उसकै बलबाहुबाट एनआरएन अमेरिका चलेको छ भन्दा खासै फरक पर्दैन । सामान्यतया लप्कनछप्कन नजानेको ईमान्दार व्यक्ति र व्यावसायिक मालिक नभएको व्यक्ति अमेरिकाको एनआरएनको कार्यकारी समिति, राज्यका च्याप्टरहरु र विभिन्न उपसमिति एवं सञ्जालमा बसेर काम गर्न खोज्नु त्यति सजिलो छैन किनकि व्यापारी र व्यवसायीहरुको बोलवालामै त्यस्ता पदहरु नियन्त्रित छन् ।

त्यस्तै स्पष्ट भन्नु पर्दा अमेरिकाको एनआरएनको नेतृत्व लिन धेरै नै आर्थिक लगानी गर्नु पर्छ जसरी अमेरिकन राज्यका विभिन्न अंगहरुको चुनावमा भाग लिदा खर्चिनु पर्छ । यसको अर्थ विना आर्थिक लगानी चुनाव जितेर नेतृत्व लिन सम्भव छैन किनकि पैसाको चलखेल विना ईमान्दार समाजसेवा गर्न चाहनेहरुको कुनै मूल्याङ्कन हुने सम्भावना निकै कम छ । आम सर्वसाधरणहरुको पहुँच र आवाजको कुनै सुनुवाइ नहुने खास ठाउँमा व्यक्ति विशेषहरुको खेलबाटै नेतृत्व हात लाग्ने अवस्था विगत देखि चल्दै आएको रितीतिथी हो । यसलाई तोड्ने साहस जब सम्म हुँदैन वास्तविक रूपमा एनआरएन अमेरिका नेपाली समुदायको दु:ख-सुखको साथी बन्न सक्दैन । यो संस्थाले अमेरिका बस्नेहरुको हित र मातृभूमि नेपाल प्रति पुर्‍याउनु पर्ने आवश्यक योगदान दुवैलाई गहनरुपमा अगाडी बढाउनु पर्छ । यो संस्थालाई राजनीतिक घेराबन्दी भन्दा बाहिर राखिनु पर्छ र राजनीतिक खोल ओडेर अमेरिका बस्ने वा संसारका अन्य मुलुकमा बस्ने नेपालीहरूको संवेदना एवं भावनामा खेल्न पाईदैन ।

अत: समयको आवश्यकता बुझेर यो संस्था अगाडी बढ्नु जरुरी छ त्यसो भए मात्र आमनेपालीहरुको यस प्रति सकारात्मक विश्वास जाग्ने छ र सहयोग एवं साथ निरन्तर रहने छ । अन्यथा ४ लाख भन्दा बढी अमेरिकामा बस्ने नेपालीहरूको साझा संस्था र समग्र मुलुकहरूमा रहने ४० लाख भन्दा बढी गैर आवासीय नेपालीहरूको साझा संस्था र विश्वासको धरोहर बन्न सक्ने आधार भत्कने छ । यसलाई एनआरएनए का जिम्मेवार व्यक्तिहरूले ख्याल गर्नु जरुरी छ ।

Published on August 14, 2016 at 2:46 am

Loading...

यसमा तपाइको मत