घरवाट निस्कदाँ अब छोरा र श्रीमतीसंग भेट नहुन पनि सक्छ भन्ने तयारीमा निस्कन्छु-गणेश मैनाली

विआरटि नेपाल सम्बाददाता

(सुषमा देवकोटा)

प्राय मान्छे रातमा भोलि हुने बिहानीको पर्खाईमा उच्च आसा र मिठा कल्पनामा गरेर निदाउँछ र प्रत्यक सुर्योदय सँगै जीवनका नवीन योजना र उत्साहको यात्रा अघि बढाउने आँट देखाउँछ । तर अधिवक्ता गणेश मैनाली आफ्नो आँखा अगाडी उभिएको डरलाग्दो मृत्यु सोच्दै निदाउँछन् र बिउँझन्छन् । मृत्युको छायाँ बोकेर पाइला बढाउनु पर्दाको सकस बेहोर्न असाध्यै गाह्र्रो हुन्छ तै पनि उनी भित्र ७ वर्ष पुग्दै गरेको बालक छोरा र जवान श्रीमतीको दाहित्व छ, उनीहरूका आँखामा खुसी भर्ने ।

SONY DSC

Ganesh Mainali

विवाह पछि नारीहरू सोच्छन्, उसको भाग्य श्रीमानको हातमा छ, श्रीमान रक्षक हो, एक प्रकारको ढुक्क महसुस गर्छन् बिवाहिता नारी, गणेश मैनालीले पढाई सकेर राम्रो जागिर पाएका थिए, समझदार श्रीमती र सुन्दर छोरा भएपछि सानो सुखी परिवार बनेको थियो । तर आज उनी आफ्नो नावालक छोरा र जवान श्रीमतीलाई आफ्नो मृत्यु पछि विचलित नभई आफ्नो खुट््टामा उभिन सिकाईरहेछन् । कति मुस्किल कुरा, राम्ररी हिड्न पनि नजानेको छोरालाई आफ्नो खुट्टामा उभिएर जीवन सुन्दर बनाउने अर्ती दिनु । आँखा ओभानो नहुने श्रीमतीलाई हाँस्नु र बाँच्नुको महत्त्व सिकाउनु पर्दा उनीभित्र बित्ने पीडाहरु मानिसले महसुस गर्न सक्दैन । तै पनि उनका ओठ मुस्कुराई रहेका हुन्छन् आफूलाई बलियो देखाउन श्रीमती र छोराको सामु उनी ।

गणेश मैनालीलाई मोटोर न्युरोन एएलएस भएको र उपचारका लागी उनी सहयोग मागीरहेका छन् भन्ने खबर विभिन्न सञ्चार माध्यममा आएपनि मैले उनलाई भेट्ने मौका पाएको थिइन । अधिवक्ता मैनालीको स्वास्थ्य अवस्थाबारे बुझ्नको लागी अमेरिकाको कोलोराडोमा रहनु भएका बिआरटीनेपाल डट कमका कार्यकारी सम्पादक शैलेश पोखरेलले साउन १८ गते मलाई फोन गर्नु भयो साँझतिर, र सम्पर्क नम्बर पठाईदिनु भयो । भोलि पल्ट दिउँसो करिब २ बजे तिर मैले गणेश मैनालीलाई फोन गरेँ, फोन उठेन । करिब १० मिनेट पछि त्यही नं बाट फोन आयो । फोन उठाएर, हेल्लो गणेश मैनाली बोल्दै हुनुहुन्छ ? भनेर सोध्ना साथ प्रस्ट र ओजीलो आवाज आयो, हजुर बोल्दैछु, । मैले आफ्नो परिचय दिँदै भेट्नको लागि समय मागें । फोनमा सुनिएको मैनालीको आवाज सुन्दा मलाई यस्तो पनि लाग्यो- ‘यिनी तिनै शैलेश सरले बताएका मोटोर न्युरोन एएलएसका बिरामी गणेश मैनाली होलान् त ?’उनको आवाजको शैली उनी स्वस्थ हुँदा अदालतमा उभिएर बोलिरहेका वकिलको जस्तै थियो । आवाजमा बिरामीको छनक पटक्कै थिएन ।

फोनमा नै बताए उनले उनी यतिबेला बाटोमा रहेछन् । राष्ट्रपति बिद्या भण्डारीलाई भेट्न राष्ट्रपति भवन जाँदै रहेछन्। राष्ट्रपति भण्डारीले उनको रोग र अवस्थाबारे चासो देखाएपछि मैनाली र राष्ट्रपतिको दिउँसो २.१५ मा भेट्ने कार्यक्रम रहेछ । उनले फोनमा आफू पर्सि उपचारको लागि अमेरिका जाँदै गरेकोले समय अत्यन्त कम भएकाले आजै भेट्ने कुरा गरे, र राष्ट्रपति सँगको भेटघाट सकिएपछि मलाई फोन गर्छु भनेर फोन राखे । साँढे ४ बजेतिर उनले मलाई फोन गरेर भनेँ, ‘आज भेट्न भ्याईन भोलि बानेश्वरको Standard Chartered Bank अगाडी ११ बजे भेटौं, समय मै आईपुग्नु होला ।

उनले फोन राखेपछि पनि उनको कुरा गर्ने शैली र त्यही गहकीलो आवाजले मेरो ध्यान उनिप्र्रती केन्द्रित भईरयो केही बेर । भोलिपल्ट १०.४५ मा फोन गरेँ बानेश्वर पुगेर । उनले हिजै भनेका थिए, म सँग समय अल्लि कम छ टाइममै आउनु भनेर । ११ बजे Standard Chartered Bank अगाडी उभिएर उनलाई फोन गर्दा उनी माछापुच्छ्रे बैङ्कको पारिपट्टी भएको बताए । उनी लौटो टेकेर उभिएका थिए । त्यो लौरो टेकाईले बल्ल मेरा आखालाई उनी बिरामी भएको भान गरायो ।

जहाँ उभिएका थिए ठिक त्यहिँको घरभित्र छिरे उनी । म उनको पछि लागें, उनी भर्यागं उक्लीरहंदाँ थाहा भयो उनलाई यी सिंडीहरु उक्लन असाध्यै गाह्रो भईरहेको छ भन्ने । केही नबोली उनको पछि लाग्दै थिए । दुई तल्ला माथि पुगेर उनले कोठाको ढोका खेले सँगै भित्र पसेउँ । सोध्न मन लागेको थियो ‘तपाँई पाटन बस्ने मान्छे यो कोठा चैँ कसको हो,भनेर’ तर सोधीन, लाग्यो उनले सबैलाई भेट्न पाएक पर्ने भएर बानेश्वरको त्यो कोठाको चावी उनलाई नजिकबाट चिनेका कसैले उनलाई दिएका थिए । या अरू नै केही थियो, यो कोठाको बारेमा कौतुअलता भए पनि सोध्न मन लागेन मलाई ।

उनी खाटमा बसे, म नजिकैको सोफामा । अनौपचारिक गफमा अल्झने समय थिएन,त्यसमाथि पनि यति मुस्किल रोग लागेका बिरामीसंग कस्तो छ तपाँईलाई ?भनेर औपचारिकता देखाउन जानिन, अन्तरवार्ताको लागि गएको थिएँ, प्रश्न गर्दा जवाफमा आईहाल्छ यी कुरा जस्तो लाग्यो । मलाई बिरामी भएका व्यक्ति सँग पत्रकार भएर भेट्न जान साह्रै गारो लाग्छ, उनीहरूका पीडा दोहोर्याई तेहेराई सुन्नु पर्छ यस्तै महसुस मलाई गायिका तारा थापालाई स्तन क्यान्सर भई सकेपछि भेट्न जाँदा पनि भएको थियो ।

भोलि साँझ अमेरिकाका जादैं भएकाले उनले भेट्नु पर्ने मान्छे अरू पनि थिए । म डायरी र कलम बोकेर बसें, क्यामेरा सोफा सँगै टाँसिएको टेवलमा राखेर । उनको आवाज मेरो रेकर्डरमा कैद हुन थाल्यो ।

सानैबाट हक्की स्वभावका थिए, गणेश मैनाली यही स्वभावले उनलाई राजनीतिमा चासो राख्ने र मानिसको अधिकारका लागि लड्ने वकिल बनायो । मैनालीको जीवन राम्रै चल्दै थियो, जागिर थियो, समझदार र सुशील श्रीमती र छोरा पाएका थिए । अचानक उनको मनले कल्पनै नगरेको र कतै नसुनेको रोग बेहोर्नुपर्यो । करिब ४ वर्ष देखि उनी मोटोर न्युरोन एएलएस जस्तो डरलाग्दो रोग बोकेर बाँचिरहेका छन् ।

गणेश मैनाली काठमाडौँ स्कुल अफलमा एलएलएम पढ्दै थिए। ठमेलको व्यस्त सडकमा हिँडीरहेका उनको एक्कासि देब्रे गोडा हिड्न नमिल्ने गरी गल्यो, एकदम अनौठो महसुस थियो यो, हिडिरहेको गोडा अचानक रोक्कीनु । नजिकै कतै देखाउनु भन्दा न्युरो अस्पताल गएर देखाउनु ठिक ठानेर उनी सिधै, ठमेलबाट न्युरो अस्पताल पुगे । न्युरो बिषेशज्ञ डा.उपेन्द्र देवकोटाले मस्तीष्कघातको शङ्का गरे र उनको सिटी स्क्यान गरियो । तर डा. देवकोटाले उनलाई भएको के हो पत्ता लगाउन सकेनन् ।

न्युरो अस्पतालले उनलाई के भएको स्पष्ट पार्न नसकेपछि उनी वीर अस्पतालमा भर्ना भए । वीर अस्पतालमा पटक पटकको एमआरआईबाट पनि डाक्टरहरुले पत्ता लगाउन सकेनन् खासमा उनलाई के रोग लागेको हो । डाक्टरहरु धेरै प्रकारका रोगहरुको अनुमान लगाउँथे, वास्तविक रोग पत्ता नलाग्दा । उनलाई के भएको पत्ता नलागेपनि उनको रोगले उनलाई सकस दिन थालेको थियो । बसेपपछि उठ्न गाह्रो हुन्थ्यो, बान्ता हुने र शरीर आफ्नो इच्छा अनुसार चलाउन नमिल्ने भएपछि उनी एक प्रकारको थला परेझैं महसुस गर्दै थिए, त्यसमाथि फ्यास्सिकुलेसन (मांशपेसी उफ्रने) ले आफ्ना हात गोडालाई नियन्त्रण बाहिर लगेको थिए ।

SONY DSC

एक दिन उनले एक जना व्यक्तिबाट थाहा पाए नर्भिक अस्पतालमा स्नायु रोग बिशेषज्ञ आएका छन् । उनले पत्ता लगाउन सक्छन् । यो सुनेपछि अमेरिकाबाट १ महिना पहिले नेपाल आएका डा. पंकज जलानलाई भेट्न नर्भिक अस्पताल पुगे मैनाली । जलानलाई आफूले खाँदै आएका औषधिका थुप्र्रा देखाएर र आफ्नो समस्या सुनाएपछि जलानले यी कुनै औषधीले काम गर्दैन भन्दै मेरुदण्डको एमआरआई गर्न लगाए । एमआरआईमा उनको मेरुदण्डको पछाडि भागमा स-साना दाग देखिए। जलानले लेखिदिए ‘मोटोर न्युरोन डिजिज सस्पेक्टेड ।’पुन स्नायु रोग विशेषज्ञ डा. रवीन्द्र श्रेष्ठले उनको नसाको इएमजी (इलेक्ट्रो मियोग्राफी) गरेपछि मोटोर न्युरोन रोगको पोजेटिभ साइन लेखियो उनको रिपोर्टमा ।

उनले त्यही थाहा पाए धापासीमा रहेको ग्रयाण्डी अस्पतालमा यो रोगबारे थप जानकारी दिइन्छ ।ग्रयाण्डी अस्पतालले मस्तिस्क र मेरुदण्डको एमआरआइ गरेपछि मोटोर न्युरोन डिजिस एएलएस अर्थात् एमिओट्रोफिक ल्याटेरल स्क्लेरोसिस भएको पत्तो लाग्यो।

उनका परिवारमा कसैलाई नभएको र स्यमं आफूले पनि नसुनेको यो रोगको बारेमा सुनेको दिन मैनाली ले आफ्नो छातिमाथी अजंगको पहाड खसेको महसुस गरे । असाध्यै रुन मन लाग्यो उनलाई । मोटर न्युरोन एएल

एस भएका रोगीहरु बढीमा ४\५ वर्ष मात्र बाँच्छन् भन्ने सुनेको दिन, उनकी श्रीमती र उनको जीवनमा ठुलो भुईचालो आएको थियो । लामो समय देखी उपचार गराइरहे पनि परिवार र उनलाई विश्वास थियो, रोग पत्ता लाग्ने छ र उपचार पछि ठिक हुनेछ तर उनलाई डाक्टरले स्पष्ट भनिदिए बढीमा ४\५ वर्ष बाँच्छन् यो रोगका बिरामी । जुन सुकै समय मृत्यु हुन सक्छ । ‘बरु क्यान्सर भएको भए, शरीरको कुनै अङ्ग काटेर फाल्न मिल्थ्यो तर मलाईलाई त शरीर ढाक्नेगरी खर्चिलो र घातक रोग लाग्यो ‘उनले थकीत मुस्कान छोडेर भनेँ ।

सानो तिनो खर्चले उनको उपचार हुँदैनथ्यो, सास रहुन्जेल आस भनेझैं खर्चको जोहो गरेर डाक्टरको सल्लाह अनुसार उनी दिल्लीको मेदान्त अस्पताल गए सन् २०१५ मा । मेदान्त अस्पताल जाँदा उनलाई अझैं पनि आस लागेको थियो, मलाई नेपालका डा. भनेको रोग गलत पनि साबित हुन सक्छ । अरुनै कुनै उपचार हुने रोगको सम्भावित आस बोकेर गएका मैनालीलाई मेदान्त अस्पतालले भनिदियो ‘तपाईँलाई भएको मोटोर न्युरोन डिजिज एएलएस नै हो ।’

पुरै सन्सार भासिएझैं भयो अव । नेपाल फर्कीएपछि उनी असामान्य बन्दै गए, शारीरिक र मानसिक रूपमा । रुन मात्र मन लाग्ने, पुराना कुराहरू र भोलि आउने दिन सम्झेर रात भरि भरि जागै रहने गर्न थाले । छोरोलाई देख्दा मन त्यसै त्यसै भक्कानिन्थो, हाँसिरहने श्रीमतीको अनुसारको उदासिनता र चकचक गर्नु पर्ने उमेरको छोराको चुपचापीले मनमा डंडेलो लगाउँथ्यो ।

डाक्टरले उनलाई भनेका थिए यो रोगका लक्षण, रोगले एकपछि अर्को शरीरका सबै अङ्गलाई गतिहीन बनाउँदै लैजान्छ। मुख बन्द हुन्छ। श्वास प्रस्वासमा समस्या आउँछ। खान निल्न गाह्रो हुन्छ। खाना निल्न नाइटोबाट पाइप लगाउनुपर्छ। श्वास प्रस्वासका लागि घाँटीमा छेड्नुपर्छ। सम्पूर्ण शरीर प्यारालाइज्ड हुन्छ र अन्त्यमा मृत्यु हुन्छ । डाक्टरले भनेका लक्षणहरु आधा आधी उनले बेहोरी सकेका थिए भने बाँकी एक पछि अर्को गर्दै देखा पर्दै थियो ।

मेडिकल साइन्सको इतिहासमा मोटोर न्युरोन डिजिजको ठ्याक्कै उपचार यही हो भनेर पत्ता लागेको छैन। यसको औषधि अहिले सम्म बनेको छैन, केन्द्रीय स्नायु प्रणालीबाट सुरु हुने यो रोगले बिस्तारै शरीरमा चेतना गायब बनाउँदै लान्छ। आँखाको दृष्टि गुम्न सक्छ। मिर्गौला तथा कलेजो फेल गराउनपनि सक्छ उनले आफ्ना रोगका बारेमा यसरी बताए ।

उनले सुनाए, ‘मैले आफूलाई यो रोग लागेको थाहा पाएपछि नै इन्टरनेट मार्फत यो रोगको बारेमा खोजी गरेँ, उनले यो पनि थाहा पाए विश्वप्रसिद्ध वैज्ञानिक स्टेफेन हकिन्स संसारमा मोटोर न्युरोन डिजिज लागेर सबैभन्दा बढी समय बाँचेका व्यक्ति हुन् । हकिन्सलाई २१ वर्षको उमेरमा मोटोर न्युरोन डिजिज एएलएस भएको पुष्टि भएको थियो। अहिले उनी ७४ वर्षका भए । उनीले अझै पनि खोज अनुसन्धानको यात्रा जारी राखेका छन् । उनको भाषा बुझ्न अरू मान्छेले विद्युतीय मेसिनको सहारा लिनुपर्छ तर उनले प्रभावकारी खोज गरिनै रहेका छन् ।

हकिन्सको उदाहरण दिएर डाक्टरहरुले मैनालीलाई ढाडस पनि दिएका छन् । तपाईँको इच्छाशक्ति हेर्दा स्टेफिन हकिन्स पछाडि संसारमा सबैभन्दा बढी बाँच्ने दोस्रो व्यक्ति तपाईँ नै हुनु पनि सक्नुहुन्छ ।

हकिन्सको बारेमा सुनाउँदा उनले मुस्कुराउँदै थपे मेरो छोरा सानो भए पनि उसलाई मेरो रोगको बारेमा सबै थाहा छ । मैले उसलाई आफ्नो रोग लुकाएको छैन । उ चासो पनि राख्छ, स्कुलका साथी र छिमेकीलाई पनि भन्छ ‘मेरो बाबालाई मोटोर न्युरोन एएलएस भएको छ ।’ एक दिन उसले स्कुलबाट स्टेफेन हकिन्सको पुस्तक लिएर आयोु र मलाई भन्यो ‘बाबा यो किताब हेर्नु त उसलाई पनि तपाईँकै जस्तै रोग लागेको छ । त्यही भएर मैले यो बुक ल्याएको ।’

अहिले उपचार भै रहेको फ्लोरिडा, अमेरिकाको क्लिनिक (मायो)

अहिले उपचार भै रहेको फ्लोरिडा, अमेरिकाको मायो क्लिनिक

उनले कत्ती पनि असहज नबनी आफ्नो रोगको बारेमा बताईरहँदा मैले हिजो उनको आवाजले आफू झुक्कीएको कौतुहलतालाई मेटाउन भनेँ, तपाँईको आवाज सुन्दा तपाँई बिरामी नै हुनुहुन्न जस्तो लाग्छ, उनले मेरो भनाइलाई स्पष्ट बुझेनन् भन्न के खोजिएको हो ? उनको अनुहारमा आएको परिवर्तन महसुस गरेँ, मृत्युलाई बोकेर हिडिरहेको मान्छेलाई यो अधुरो शब्दले अर्कै अर्थ पनि लाग्ने देखेपछि मैले प्र्रस्ट पारें, उनले भनेँ ‘के गर्नु त यो रोग लाग्दा सुरुको दिनमा साह्रै निराश भएँ, रुन्थें पनि त्यो देखेर छोरा र श्रीमतीमा पनि डर पैदा भयो । अव यो मर्ने नै हो भन्ने भएर घरमा सधैँ सन्नाटा छाउन थाल्यो । उता घरमा भएको पैसा उपचारमा सक्कींदा घर चलाउनै मुस्किल हुँदै थियो । यो सब मेरै कारणले भएको थियो, मैले सोचें अव मैले आफूलाई समाल्नु पर्छ र केही गर्नुपर्छ’ उही थकीत मुस्कानमा उनले भने’ डिटरमिनेसन हुनुपर्छ । सबै फुलहरू फक्रीएरै मात्र झर्दैनन् कति फुलहरू कोपिलामै झर्छन् ।’

आफ्नो लागि आफैँ जुट्नु पर्ने अवस्था आएपछि अमेरिकाका सबैजसो नाम चलेका अस्पतालहरुमा इमेल गरेँ। मेदान्त अस्पतालले भनेको थियो अमेरिकामा यो रोगको उपचारको सम्भावना छ । धेरै जसोबाट एउटै खालको जवाफ आयो-हामी अमेरिकी बाहेकलाई उपचार खर्च बेहोर्न सक्दैनौँ। अन्तिममा मायो क्लिनिकले मलाई पोजेटिभ रेस्पोन्स दियो । मेदान्तको रिपोर्ट हेरेपछि मेल आयो तपाँईको रिपोर्ट अनुसार यतिबेला सम्म सम्पूर्ण बोली बन्द भएर ह्विलचेयरमा भैसक्नुपर्ने थियो तर बोली बन्द नभएको, ह्विललचेयरमा नभएको र लौरो टेकेर भए पनि हिँडिरहेको थाहा पायौं, तपाँईलाई रिसर्च क्यान्डिडेटका रूपमा उपचार गर्दैछौं । असीमित खर्च बेहोर्ने गरी आएको यो ग्यारेन्टेड लेटरले बिरामी भएपछि पहिलो पटक खुसी बनाएको थियो मलाई । मायो क्लिनिक १२७ वर्षअघि स्थापना भएको यो मेडिकल अनुसन्धान संस्था हो ।

म सधैँ श्रीमतीलाई छोरालाई म मरेपछि कसरी दृण भएर बाँच्नु पर्छ सिकाईरहेछु । उनीहरूलाई आफू बाँच्दैमा आफ्नो खुट्टामा उभिनको लागि सहयोग गर्दैछु । ताकी भोलि म मरेपछि श्रीमतीलाई छोरा हुर्काउन गाह्रो नहोस्, छोराले पनि मेरो मृत्युलाई सहन सकोस् भनेर आफूलाई डाक्टरले भनेका सबै कुरा सुनाउँछु । श्रीमती अहिले फेसन डिजाइन सिक्दैछिन्, मेरो अवस्था देखेर निःशुल्क फेसन डिजाइन कोर्स गर्न पाइन् ।

मेरोganesh7 रोगले मलाई च्याप्दै लगेको थियो आफूसँग भएको सबै पैसा सक्कीयो, सकेसम्म कसैसँग नमागुं भन्ने थियो पहिले । तर महँगो औषधी किन्न सक्ने क्षमता म सँग रहेन र म बाहिर आएँ । मलाई बचाउनुस् भनेर हार गुहार गरेँ, यति नगरेको भए म आज सम्म बाँच्ने पनि थिइन । सहयोगी मनहरुले मेरो अवस्थालाई बुझे, नेपालका विभिन्न व्यक्ति र संस्था लगाएतले जति सकिन्छ त्यति सहयोग गरे । मेरो समाचार चारैतिर फैलाउन मिडियाले पनि सहयोग गर्‍यो । अमेरिकाबाट पनि बिआरटी नेपाल डटकमका कार्यकारी सम्पादक शैलेश पोख्रेलको अगुवाईमा मेरो उपचार खर्च पठाइएको थियो । त्यस्ता धेरै व्यक्ति र संस्था छन् जसको गुन मैले बिर्सनु हुँदैन ।

मिडिया, उद्योगी व्यवसायी, चिनेजानेका गन्यमान्य व्यक्ति र सरकारी निकाय सम्म पुगें उपचार खर्च जुटाउन । स्वास्थ्य मन्त्रालय पनि गएको थिएँ, ‘तपाईँले राष्ट्रलाई के योगदान दिनुभएको छ सहयोग गर्नु’ भनेर सहयोग गरेन । म आफू २०६२\६३ को जन आन्दोलनको घाइते पनि हुँ । मेरो उपचार खर्च यति ठुलो भएपछि नागरिकको हैसियतले स्वास्थ्य मन्त्रालयको दाहित्व पनि हो ।मैनालीले गुनासो गरे- ‘विश्वका राष्टपति, प्रधानमन्त्री देखी संसारकै धनाण्ड व्यक्तिहरू मोटोर न्युरोन रोगको अनुसन्धान र रोगीको उपचारका लागि सडकमा उत्रीएका छन् । तर हाम्र्रो देशमा रोगी जनताको योगदान खोज्छन् मन्त्रीहरु । म आफू जति बाँच्नेछु, मेरो अभियान रहने छ , नेपालमा भएका अन्य मोटोर न्युरोनका बिरामीहरुको खोजी गर्ने । म राजधानीमा थिए, अस्पतालदेखी डक्टर सम्म आफैँ भेट्न सक्थें र त रोग पत्ता लगाउन सकेनन् डाक्टरहरुले भने गाउँ घरमा रहेका साना स्वास्थ्य संथाले यो रोगको बारेमा पत्तो नै पाउँदैनन् । मलाई लाग्छ नेपालमा म नै पहिलो व्यक्ति होइन मोटोर न्युरोन एएलएस रोगको सिकार भएको । यहाँ म भन्दा पहिले पनि धेरैलाई भएको हुनसक्छ । पहिलो त रोग पत्ता लागाउन सक्ने डाक्टरकहाँ पुग्नै सक्दीनन् मान्छे र अर्को थाहा नै भई हाले पनि ठुलो रकम खर्च गर्न नसक्दा लौ मरे पनि के गर्ने त भन्ने अवस्था छ ।

झलनाथ खनाल, माधव नेपाल लगाएतका मन्त्रीलाई भेट्दा उनीहरूले भने सकेको गर्ने बताए । राष्टपतिसंगको भेटमा पनि उहाँले मैले के गर्नु पर्छ भन्नुस् भन्नु भयो । राष्टपतिसंग २ घण्टा बढी कुराकानी भयो, सोचेको थिएँ उहाँले यति लामो समय दिनु हुन्न होला तर धेरै चासो राख्नुभयो मेरो अवस्थाको बारेमा खुसी लाग्यो ।

मैनाली यतिबेला अमेरिकाको मायो क्लिनिकमा उपचार गराइरहेका छन्, उनको इच्छा थियो श्रीमती र छोरालाई पनि सँगै लैजाने तर भिसा उनको मात्र आयो ।

१ घण्टा लामो मैनाली सँगको कुराकानी पछिका दिनमा म सोचिरहेछु, मान्छेले हिम्मत देखाउन सक्नु पर्ने रहेछ । उनले कति सजिलै भनेँ, म जुनसुकै समय मर्न सक्छु । हरेक दिन घरबाट निस्कदा म आफू मर्नु पर्ने कुरालाई स्वकारेर निस्कन्छु, कोठाबाट निस्कदाँ सधैँ महसुस हुन्छ अव फेरी श्रीमती र छोरा सँग भेट होला नहोला ।

 

 

Published on August 13, 2016 at 8:13 am

Loading...

यसमा तपाइको मत