नेपालगन्ज नाका भएर ४६ लाख ३८ हजार २१५ किलो जडिबुटी भारत निकासी

विआरटि नेपाल सम्बाददाता

दिनेश ठाकुर
नेपालगन्ज, २८ साउन।

गत आर्थिक बर्ष २०७२\७३ मा नेपालगन्ज नाका भएर ४६ लाख ३८ हजार २१५ किलो जडिबुटी भारत निकासी भएको छ ।
आर्थिकबर्ष २०७२\७३ मा गत आर्थिक बर्षमा भन्दा केही बढि जडिबुटी भारत निकासी भएको  हो ।

नेपालगन्ज नाका हुदै भारत तर्फ हुने जडिबुटीको निकाशी बर्षेनी घट्दै गएकोमा यसबर्ष केही मात्रामा बढेको छ । आर्थिक बर्ष २०७१\७२ मा ४६ लाख ९ हजार २८७ किलो जडिबुटी भारत निकासी भएकोमा आर्थिकबर्ष २०७०\७१ मा ४७ लाख ३५ हजार किलो जडिबुटी नेपालगन्ज हुदै भारत निकासी भएको नेपाल जडिबुटी ब्यबसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

नेपालगन्ज नाका हुदै बर्षेनी करिब एक अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निकाशी हुने गरेको सङ्घले जनाएको छ । भारतको उत्तरप्रदेश राज्य सरकारले जडीबुटी निकासीमा ट्रान्जिट पास लिनुपर्ने व्यवस्था लागू गरेपछि नेपालगन्ज हुदै भारतमा जडिबुटी निकाशी बर्षेनी घट्दै गएको सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले जानकारी दिए । ट्रान्जिटपासको अनिवार्य व्यवस्था गरिएपछि पछिल्लो चारवर्षदेखि नेपालगन्जबाट भारततर्फ जडिबुटीको निकासी घट्दोक्रममा छ , -अध्यक्ष अन्सारीले भने।

राजनीतिक दलका नेता  देखिप्रधानमन्त्री सम्मको ध्यानाकर्षण गराएपनि समस्याको समाधान हुन सकेको छैन् । ट्रान्जिटपासका लागि नेपालगन्ज नाका भएर जडिबुटी भारत पठाउदा ४ दिनसम्म सीमाक्षेत्रमा मालबाहक सवारी साधन रोक्दा थप व्ययभार तिर्नुपर्ने व्यवसायीहरुले जनाएको छ । पछिल्लो समय भैरहवा लगायतका नाकाबाट समेत जडिबुटी निकासी हुन थालेको छ ।

बिगत चार बर्ष देखि जडिबुटी निकाशीमा देखिएको समस्या समाधान हुन नसकेका कारण जडिबुटीको निकाशीमा कमी आएको र व्यवसायीहरु मारमा परेको सङ्घले जनाएको छ । एकठाउँबाट अर्को ठाउँमा जडिबुटी स्थानान्तरण गर्दा बिल देखाउदा पनि व्यवसायी नियन्त्रणमा लिने र जडिबुटी नियन्त्रणमा लिने कार्य अधिकाँश ब्यवसायीले बिरोध गरेका छन् ।

भारतमा जडिबुटी निकासीमा समस्या भोग्दै आएका व्यवसायीले नेपालमा समेत दोहोरो कर तिर्नुपर्दा समस्या भएको दावी गरेका छन् ।
सङ्घका अध्यक्ष अन्सारीका अनुसार, जडिबुटीमा बन कार्यालय , जिल्ला बिकास समिति, र भन्सार कार्यालयले छुटटा छुटटै कर लिने गरेका छन् ।

यसैगरी चेकजाँचको नाममा बन कार्यालय तथा प्रहरीको चेक पोष्टहरुले सताउने गरेको अन्सारीको दावी छ । जडिबुटी व्यवसायी सङ्घका अनुसार मध्यपश्चिमका डोल्पा, जुम्ला, हुम्ला,सल्यान, रोल्पा, जाजरकोट, रुकुम, प्युठान, दाङ्ग, सुर्खेत लगयातका जिल्लामा बर्षेनी ठुलो परिमाणमा जडिबुटी संकलन हुने गरेको छ ।

सो जडिबुटी नेपालगन्जसम्म ल्याएर भारत तथा अन्य मुलुकमा निकासी गर्ने गरिएको छ । जडिबुटी ओसारपसार तथा खेतीमा स्पष्ट नीति नभएका कारण व्यवसायीसँगै जडिबुटी संकलनको काम गर्ने किसानले समेत प्रर्याप्त लाभ लिन सकेका छैनन् । नेपालगन्ज नाका भएर टिमुर, सतावरी, रिठा, पाखन बेद, अँमला, गुजरगानो, सिकाकाई, काउलो बोक्रा , झ्याउ, तेजपात, हलहलेजरा, बिषजरा, दालचिनी ,सालमदाना जटामसी जस्ता बहुउपयोगी जडिबुटी ठुलो परिमाणमा भारत निकासी हुने गरेको कार्यालयले जनाएको छ ।

यसैगरि भुतकेश,मजिठा,बोझो, काउलोबोक्रा, अकरकरा, चुत्रोबोक्रा, निरमसी, पिपला, लोहान,अतिस,कुकुरडाइनो, गिठिदारबोक्रा,नागबेली पाउडर, तिगेडी, सेतकचिनी, गोकुलधुप, वनसुडोबोक्रा,गुड्ची,सुगन्धवाल मार्क,सुगन्धकोकिला मार्क, सुगन्धकोकिला तेल लगायत जडिबुटी भारत निकासी हुँदै आएका छन् ।

Published on August 12, 2016 at 8:05 am

Loading...

यसमा तपाइको मत