पाथीभरा गोल्डकपको तयारी पूरा

विआरटि नेपाल सम्बाददाता

चन्द्र पन्दाक, ताप्लेजुुङ, साउन २७ गते । ताप्लेजुङमा सञ्चालन हुने पाथीभरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएसँगै खेल शुक्रवारदेखि सुरु हुने भएको छ । लाखेजात्रा फुुटबल खेल सञ्चालन समितिको आयोजनामा हुने पाथीभरा गोल्डकपमा यसवर्ष आठ टिमको सहभागिता हुने भएको छ ।

आयोजक समितिका अध्यक्ष युगराज गुरुङका अनुसार शुक्रवार उद्घाटनमा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लब र पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै दोस्रो दिन पाँचथरको फिदिम स्पोर्टिङ क्लब र पथरी स्पोर्टिङ क्लब मोरङ, तेस्रो दिन इलाम ११ र सुनसरी ११ बिच स्पर्धा हुने भएको छ । त्यस्तै चौथो दिन रोयल फुटबल क्लब सिलगुढी भारत र गत वर्षको डिफेण्डिङ च्याम्पियन गोर्खा स्पोर्टिङ क्लब दमकबीच भिडन्त हुने छ ।
यस्तै महिलातर्फ कञ्चनजंघा च्यालेन्ज कपका रूपमा खेल हुने भएको छ । महिलातर्फ भने पाँच टिमको सहभागिता रहने र खेल सोमबारदेखि सुरु हुने छ ।

पहिलो खेल मानाभरा युवा क्लब खेजेनिम र सूर्योदय युथ क्लब जाँते मोरङबीच हुने भएको छ । त्यस्तै दोस्रो दिन पहिलो दिनको विजेता र लेकसाइड स्पोर्टिङ क्लब ताप्लेजुङ नगरपालिका तथा चौथो दिन रोयल फुटबल क्लब सिलगुढी भारत र पारिजात महिला फुटबल टिम झापाबीच हुने आयोजकले जनाएको छ ।
विक्रम सम्वत् २०२९ साल अर्थात् विगत ४३ वर्ष अघिदेखि पाथीभरा च्यालेन्ज शिल्डको रूपमा खेलाइँदै आएको यस प्रतियोगिता यो वर्षदेखि पाथीभरा गोल्डकपका रूपमा खेलाइने भएको हो । ४३ वर्ष लामो इतिहास बोकेको यस प्रतियोगिता पाथीभरा च्यालेन्ज शिल्ड हुँदै देउमान स्मृति कप, कञ्चनजंघा च्यालेन्ज कपका नाममा आयोजना हुँदै आएको थियो ।

अब भने पुरुषतर्फ पाथीभरा गोल्डकपका रूपमा र महिलातर्फ कञ्चनजंघा च्यालेन्ज कपको नाममा खेलाइने भएको छ । यसवर्ष गोल्डकप विजेताले उपाधिसहित एक लाख ५१ हजार १११ र उपविजेताले एक लाख एक हजार १११ रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेताले कञ्चनजंघा च्यालेन्ज कपको उपाधिसहित नगद ५१ हजार १११ र उपविजेताले ३१ हजार १११ रुपियाँ प्राप्त गर्ने छ । प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन उच्च माविको खेलमैदानमा सञ्चालन हुने छ ।

Published on August 11, 2016 at 9:01 pm

Loading...

यसमा तपाइको मत