प्रिय ऋतु !–नेत्र एटम

Published on August 10, 2016 at 2:00 pm

netra atom

 

आएकी छे
बैंसालु ऋतु
नवीन शृंगारमा सजिएर
स्फूर्तिका पाइलाहरु
टकटक टकटक टेक्दै
र धर्तीमा टेकेका डामहरु छोड्दै
अनि
चढेकी छे
नदीका किनारदेखि
पहाडका उत्तुङ्ग टाकुरासम्म
आकाशबाट झरेका
मोतीजस्ता शीतका गुलाबी दानाहरु
हातमा थपथपाउँदै
भूमध्यरेखाको स्वप्नदेशबाट
घुम्दै घुम्दै आएकी छे ऊ विश्वशृंगको काखमा
तर्दै सागर र मरुभूमिको पृथक् कम्पन
थाहा छैन उसलाई कति प्रतिकूल छ परिवेश
नुनिलो पानीले भरिएका छन् हाम्रा तालहरु
विषाक्त दक्षिणी हावाले
खंग्रंग सुक्न थालेका छन् फूलका पातहरु
गुबेद्रोले प्वाल पारेका छन् कोपिलाएका गुभाहरु
खुम्रे किराले खाएर
जराका घेराघेरा
ढल्न तयार छन् कमजोर बोटहरु
सहन सक्लान् र तिनले
तिम्रो शारदी पवनको अविरल प्रवाह !
ग्रहण गर्लान् र तिनले
तिम्रो सुगन्धमय प्राणवायुको ताजापन !
उत्साहित होलान् र
तिम्रो शीघ्र आगमनमा
धुवाँ उडिरहेका बाटाहरु !
मेरी प्रिय ऋतु,
जुनेली रातको शीतलतामा
मालश्रीको मधुर धून सुनिएको छैन कतै
बठीनियाका ठेला उठेका हातमा
सखिया नृत्यका इन्द्रेनी लहरहरु देखिएका छैनन् कतै
अनि छैनन् कतै
तोक्मामा उमंगका ढाकरहरु बिसाइएका पनि
छु त केवल म छु
तिम्रो प्रतीक्षामा
लेकमा एक्लै ठिङ्ग उभिएर
सुसाइरहेको सल्लाको रुखजस्तो
निरन्तर आँखा बिछ्याएर
स्मृतिमा हराइरहेको कुनै हिमतालजस्तो
स्पर्श गर्दै औंलाहरू
आऊ ऋतु !
हेमन्तले विस्थापित गर्नुअघि
तिमीलाई सुस्वागत गर्नु छ
तर
सिरेटोले काँडा उम्रिएका तिम्रा पाखुरामा
एक चुप्को चुम्बनको उष्णताबाहेक
के पो दिन सकूँला र
एक जिन्दगीको प्रेमोपहार । । ।

Loading...

यसमा तपाइको मत