सपनाको गुन्द्री– प्रथा

विआरटि नेपाल सम्बाददाता

आमा –
आफुजस्तै अँगेनोमा
ढुङ्ग्रोले आगो फुक्नु हुन्छ !
छोरो –
मरुभुमिको तावामाथि
मनको तातोले सपना पोल्छ !

अँगेनोबाट –
जब उठ्छ धुवाँको मुस्लो आकाशतिर
आमालाइ लाग्छ
धुवाँसँगै उडिरहेछन् – जीवनका सारा खुशीहरू !
किन यति लामो छ
यो जिन्दगी हिँड्ने बाटो पनि !
उफ….मेरी रामसाइँली !
कसरी हेरूँ म
यी आँखाहरूले – सपना जलेका छोराछोरीहरू !

सायद,
भोकको डढेलो नसल्केको भए !
रानीवन छोडेर
समयको भयावह गीत गाउँदै
उड्दैनन् थिए होलान्
वनचरीका अनगीन्ति लस्करहरू !

किरिङ….किरिङ….किरिरिङ.…!
हेलो……हेलो…… हेलो……..!
कल्लीमाया काकी हो ?
हो हजुर…..बोल्दै छु !
भिसा त –
अस्ति नै झरिसक्यो
लौ १२ गतेको फ्लाईट छ
छोरालाई तुँ पठाइदिनु होला !
फोन राखेर
बेस्सरी दौडिन्छिन् उनी
मेटिदै गरेका – आफ्नै हस्तरेखाहरूमाथि !

मायादेवीले बुनिन् !
फुङसामाले बुनिन् !
सुम्निमाले बुनिन् !
लक्ष्मनियाले बुनिन् !
डोलसारीले बुनिन् !
र आज पनि –
कल्लीमाया बुनिरहेछिन्,
उहि पुरानो सपनाको गुन्द्री !

जीवनको आँटीमा पल्टिएर
सारङ्गी रेट्दै
गाईनेदाई गीत गाउँछन् !
“दुखैले रेट्यो नि कलेजी मेरो
थीरमा छैन् मन
जाँदैछु उडी समुद्र पारी
छोडेर प्यारो वन !”

आमा –
सम्झना बुन्नु हुन्छ !
र खुशीको बिट मार्न नभ्याउँदै
हरेक दिन –
आँखा चिम्लिनु हुन्छ – तानमै !
छोरो –
सपनाको चङ्गा उडाउँछ !
र लटाईबाट
अकस्मात् धागो चेट भएपछि
ऊ निदाउँछ – बालुवाको ओछ्यानमाथि !

जब ओर्लन्छ
जहाजबाट कफनबक्स् जमिनमा !
तब तैरिदै बग्दो हो
यो भूगोलको नक्सा – आँशुको नदीमाथि !

आमाहरूको हातबाट
जुन दिन –
गुन्द्री बुन्ने हतासो हराउने छ !
सायद, त्यही दिन
सपनाको –
यही बिखण्डित गुन्द्रीमाथि
अन्तिमचोटि निदाउने छ
एउटा निरिह देश – मुर्दा बनेर !

Published on August 10, 2016 at 1:35 pm

Loading...

यसमा तपाइको मत