गुम्दैं गएको राष्ट्र, राष्ट्रियता र स्वाभिमान

विआरटि नेपाल सम्बाददाता

Published on August 10, 2016 at 9:20 am

prem b. shahi

हामी नेपाली हौं, यसमा हामीलाई आत्मगौरब छ । हाम्रा पुर्खाहरुले वीरतापूर्वक कठोर लडाई लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौंको बलिदान र हजारौंको जीवन अङ्ग–भङ्ग गरेर बचाएको देश हो । आधुनिक हतियार र तालिम प्राप्त दक्ष भएर नेपालीसँग युद्ध गर्न आएका ब्रिटिस सेनालाई भाला, तरवार, ढुङ्गामुढा प्रहारबाट ऐतिहासिक विजय हाँसिल गरी पूर्खाले राष्ट्र, राष्ट्रियता स्वतन्त्रता र स्वाभिमान जोगाएका हुन् । त्यति वेला विदेशीसँग झुकी निडर भएर नलडेको भए आज यहाँ अंग्रेजहरुको राज हुन्थ्यो । युद्ध गर्न नेपाल आएका ती व्रिटिस सेनाले नेपालीसँग युद्ध गर्न नसकि आफ्नो हार स्वीकार गरी अन्तत स्वदेशमै फर्कियो । त्यसैले आज हाम्रो राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानीको नारा र भाषण गर्ने गछौं, तर अहिलेको पीढिले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रताको विषयमा खासै काम गरेका छैनौं ? सधै पराधिन भएर लम्पसारवादको नीतिलाई आत्मसाथ गर्ने, अनि भन्ने हाम्रो नेपाल, हामी नेपाली ।

राज्य लक्ष्य, उद्देश्य र योजना विहिन

कुनै पनि देशलाई समृद्धीको बाटोमा अघि बढाउनको लागि राज्यले एउटा लक्ष्य, उद्देश्य सहितको दिर्घकालीन योजना बनाउनु पर्दछ । सोही अनुसार काम गर्दै अघि बढ्यो भने निश्चित नै सफलतामा पुगिन्छ । तर नेपालमा अहिलेसम्म राज्यले ठोस रुपमा नीति निर्माण गरी दीर्घकालीन योजना बनाउन सकेको छैन । जसको प्रत्यक्ष उदाहरण हो, देशमा भएका युवा जनशक्तिलाई सही तरिकाले परिचालन गर्न सकेको छैन । देशको मेरुदण्ड मानिने युवा आफ्नो प्यारो मातृभूमि छोडी विदेशिने गरेका छन । वेरोजगारी समस्याले गर्दा सके वैधानिक नसके अवैधानिक तरिकाले विदेश जानेको संख्या बढिरहेको छ । यो अवस्था केही वर्षसम्म कायम रह्यो भने देश नै युवाविहिन हुने निश्चित छ । कुल जनसंख्याको आधा जनसंख्या अहिले भारत लगायत तेस्रो मुलुकमा विभिन्न कामको खोजीमा गइरहेका छन ।

केही पढे लेखेका मानिसकहरु आफ्नो दक्षता, क्षमता र सीप अनुसारको काम र काम अनुसारको पारिश्रमिक नहुँदा वेरोजगार भएका छन । राज्यले विद्यार्थीहरुका लागि सीपमुलक ब्यवहारिक शिक्षा नीति बनाउन सकेको छैन । शिक्षित भनिने वर्गहरु अध्ययनको वाहना गर्दैै विदेशका महङ्गो–महङ्गो कलेजहरुमा लाखौं–लाख रुपयाँ खर्च गरी शिक्षा हासिल गरिरहेका छन । पढाईको नाममा सवै सम्पत्ति विदेशमै गुमाउनु परेको छ । हाम्रो देशमा आफूसँग भएको बृद्धि विवेकको प्रयोग गर्न खोज्यो भने त्यसलाई पालगको संज्ञा दिने गरिएको छ । अझै कुन ठीक हो, कुन बेठिक हो, भन्ने समेत छुट्टाई दिने मानिसको कमि छ ।

राष्ट्रियतामाथि धावा बोल्दा “तै चुप मै चुप”

सन् १८१६ मार्च ४ मा सुगौली सन्धीदेखि भारतीय सरकारको प्रत्यक्ष निर्देशनमा वा सीमा सुरक्षा बलको एकलौटी आत्मनिर्णयले भारतसँग नेपालका सीमाना जोडिएका २६ जिल्लाहरूमध्ये २१ जिल्लाहरूको ५४ स्थानमा पटक–पटक गरी भारतले ६० हजार हेक्टर नेपालको भूमि अतिक्रमण गरिएको छ तर नेपाल सरकाले ९८ प्रतिशत सीमा समस्या हल भएको झुटो तथ्य सार्वजनिक गरेको छ । यो तथ्याङ्क मान्न कुनै पनि देशभक्त नेपाली तयार छैनन् । किन भने सबैभन्दा धेरै कालापानी लिम्पियाधुरा क्षेत्रमा ३७ हजार हेक्टर र सुस्तामा १४ हजार हेक्टर र अन्य सीमा जोडिएका स्थानहरूमा नेपालको भूमि भारतले दिनदाहाडै कब्जा गरेको छ । नेपालीलाई भारतीय सीमा सुरक्षा बलले भारतको विभिन्न ठाउँबाट मजदुरी गरेर घर फर्कने क्रममा नेपालीलाई कुट्ने, लखट्ने, पैसा असुल्ने, बलात्कार गरी हत्या समेत गर्ने गरेको छ । यसरी भारतले नेपालमा श्रृंखलाबद्ध रूपमा राष्ट्रियता माथि नाङ्गो आक्रमण गरिरहेको छ । आफ्नो मातृभूमिमा अरुको शरणार्थी बनेर बस्नुपर्दाको पीडा यहाँ अभिब्यक्त गर्न सकिदैन । सीमा क्षेत्रमा बसोबास गर्दै आएका किसानहरूको लालपूर्जा, नागरिकता वितरण कार्यमा उत्पन्न हुने केही कठिनाइहरूको फाइदा उठाउँदै भारतीय पक्षबाट आफूलाई नागरिकता र लालपूर्जा दिलाइ दिने आश्वासन दिदैं जमिन अतिक्रमण गर्ने र त्यसको प्रतिरोध गर्दा अनेक मुद्दा मामिलामा नेपालीहरूलाई फसाइ जेलमा समेत हाल्ने समेत गरेको छ ।

नेपाल–भारतमा भनेको रोटी, भोटी र वेटीको सम्बन्ध हो, त्यसैले नेपालले भारतलाई सदाको लागि पानी, खानी र जवानी मध्य एक हामीलाई सदाको लागि दिनु भनि बारम्बार बोलिरहेको छ । अव भारतले दिनदाहडै राष्ट्रियता माथि धावा बोलिरहदा हामी भने ‘मुखमा दही जमाएर बसेका छौं’ नेपालको विशिष्टलाई तुलना गर्ने हो भने नेपाल बहुजाती, बहुसांस्कृतिक, भौगोलिक विविधता, बहुधार्मिक विशाल एक सिङ्गो नेपाल हो । यहाँ पछिल्लो समयमा विभिन्न उत्श्रृंखल नारा दिएर सिङ्गो विशाल देशलाई चिरा–चिरा गरिएको छ । यस्तो अवस्थामा देशको अस्थित्व नै समाप्त हुने सम्भवना बढी छ । राज्य पूर्नःसंरचना गर्दा तराईलाई पहाडसँग जोड्नु नहुने वा पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमको कैलाली, कञ्चनपुरलाई मधेशवाट अलग–अलग गरिनु हुदैन भन्ने विषय नै अहिले ठूलो विवादमा छ । देशमा अनेकौं बाहाना–बाजी गरि जातीय राज्य, आत्मनिर्णयको अधिकार र स्वायत्त एक मधेश, एक प्रदेश, बहुराष्ट्रवाद, जातीय अधिकार, जन्मको आधारमा नागरिकता, जनसंख्यालको आधारमा निर्वाचन क्षेत्र, आन्तरिक तथा बाह्य हस्तपेक्षक आदिका कारण नेपालीको पहिचान नै समाप्त हुने गरी विभिन्न किसिमका कामहरु देशमा भएका छन ।

लगानीको प्रलोभनमा वास्तविकता बाहिरिदैं

वाहिरी देशहरुले नेपालमा लगानी गर्न कै लागि जुन प्रकारले एनजिओ–आईएनजिओ खोल्न अनुमति दियो त्यपछि देशको स्वतन्त्रता, राष्ट्रियता स्वाभिमानी र अर्थतन्त्रका लागि गम्भीर खतरा रहदैं आईरहेको छ । लगानीको जालो झिजार्दै जसरी विदेशीहरु जासूसीहरु स्वस्फुर्त रुपमा नेपालको वस्तु स्थितिको अध्ययन अवलोकन गर्न पाए, त्यसपछि नेपालको वास्तविकता झनै बाहिरीयो । देशमा आर्थिक र राजनैतिक स्वार्थले प्रेरित भएर आफ्ना विखालु ब्वाँसे स्वार्थ राखेर अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरुलाई प्रयोगमा ल्याउदै आए त्यसले प्रतिक्रियावादी, सामन्तवादी तत्वहरु जनजाती आदीवासी दलित, महिलावादी तथा आफुलाई बामपन्थी भन्ने तथा कथित क्रान्तिकारी ठुलो बृद्धीजीवीहरुलाई पनि डलरले खरिद गरिहेका छन ।

सीप विकास, चेतना विकास, सामाजिक सुधार तथा आर्थिक पूर्वाधार विकास गर्ने काम भनि ललाई फकाई देशको सामाजिक सद्भावलाई भट्काई रहेका छन । यो नै सवैभन्दा राष्ट्र, राष्ट्रियता र स्वाभिमान माथि भाइरस बनेको छ । देशमा एनजिओ–आईएनजिओकोे नाममा सवैभन्दा वढी लगानी गर्ने देश अमेरिका, वेलायत, इटाली, जर्मन, फ्रन्स, नेदरल्याण्ड, क्यानाडा, नर्वे, बेल्जियम, डेनमार्क, जापान, भारत, चीन, ब्राजिल, स्वीडेन, बर्मुडा, कोरिया, न्यूजिल्याण्ड र अस्ट्रियाका सवै भन्दी वढी एनजीओहरु देशमा भित्रीएका छन । यीनीहरुले देशको विकास भन्दा फरक देशको वास्तविकताको विस्तृत अध्ययन अवलोकन गर्ने गरेका छन ।

सधै परनिर्भरता

हिमाल, पहाड, तराईसम्म कृषि उत्पादनको लागि उर्वर मानिने खेतवारी वषौं–वर्षसम्म बाँझा छन । घर आगन सवैतिर जताजतै जङ्गलै–जङ्गलले भरिएको छ । हरावरा उर्वर भूर्मिहरु उजाड बनेका छन । घर परिवारमा सधै छिमेकीसँग मागेर जीवन गुजरा चलाउने प्रचलनको बढेको छ । दश रुपैयाँ पर्ने उपभोग्य वस्तुहरुको मुल्य एक्कासी रातारात बृद्धी भई पन्ध्रदेखि पच्चीस रुपैयाँसम्म पुगेको छ । देशभर जहाँ गयो त्यही महङ्गीले चरमचुली छोएको छ । आफ्नै देशमा उत्पादित वस्तुहरुलाई प्राथमिकता नदिई विदेशबाट आयत गरेका रङ्गी–चङगी उपभोग्य वस्तुहरुमा दिनप्रतिदिन आकर्षक बढ्दो छ । मेडिन नेपाल लेखेको वस्तुलाई राम्रो हुँदैन र हामीहरुले त्यो स्वदेशी उत्पादनलाई उपयोग गर्नु हुँदैन भन्ने खराब मानसिकता बनाएका छौं । अन्य देशबाट आयत गरिएको स्वाथ्यका लागि हानिकारक वा विभिन्न किसिमका रसायन मिसाएका उपभोग्य वस्तुहरु उपभोग गरिहरेका छौं ।

गाउँ घरका जग्गाहरु कौडीको मूल्यमा विक्री गरी सहरमा चार, पाँच मिटर जग्गालाई दश–पन्ध्र लाख रुपैयाँ हाल्ने बानीको विकास भएको छ । पछिल्लो समयमा मानिसहरु सहर र सुविधामूखि बनिरहेका छन । देशमा नीति निर्माण तहसम्म पुगेका भनेर चिनिनेहरु सधै आफ्नो ब्यक्तिगत स्वार्थमा मात्र ध्यान केन्द्रीत गरिरहेका छन । आगनको फोहोरदेखि राज्यको नीति निर्माण समेत अरुले गरिदिन्छन भन्ने गलत सोचको विकास भएको छ । देशमा बढ्दै गएको जनसंख्याले वेरोजगार दिन दिनै थपिदै गएको छ । त्यही वेरोजगारी समस्याले गर्दा देशमा विभिन्न प्रकारका विकृति, विसंगति, हत्या, हिंसा बढिरहेका छन । स्वदेशमा भएका स्रोत साधनहरुको उत्खनन् गरी प्रयोग गर्न राज्यको कहिल्यै ध्यान गएन, गयो त केवल सत्ता र कुर्सीको मात्र । देश कति परनिर्भरतामा बाँचिरहेको रहेछ भनेर आफ्नै आँखा अगाडि आज छर्लङ देखिएको छ ।

देशमा संविधान जारी, त्यस लगतै मधेशमा भईरहेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले परनिर्भरताको सक्कली रुपम देखाई दिएको छ । न हिच्किचाएर भन्ने हो भने, अहिलेको यो ‘मुमेन्टले’ के पुष्टि गरेको छ भने देश कति खोक्रो भएको रहेछ भनेर प्रस्ट देखाएको छ । धन्य छ, संविधान सभाको वहुमतद्धारा पारितभई जारी भएको नेपालको संविधान वि.स. २०७२, मधेशवादी दल र छिमेकी देश भातरलाई । सधै अरुको भरमा पर्दा के हाल हुदोरहेछ ? भनेर अनुभव वटुल्ने मौका र इतिहासदेखि आजको दिनसम्म हामी कति बुद्धीका आलाकाँच्चा रहेछौं भन्ने तीन महिनामै सवै नेपालीहरुले पाठ सिकेका छन । माथिको हरफ्मा उल्लेख भएको शब्दले विपक्षलाई मलजल पुगेको भनेर नबुझिदिनु होला किन भने नेपाल र नेपालीलाई आत्मनिर्भरता बन्ने यो भन्दा ठुलो अरु कुनै अवसर आउने छैन । त्यसैले भनिन्छ ‘विष नभएको सर्प र ईख नभएको मानिसको कुनै काम हुदैन ।’ अहिलेको यो संकटलाई सवैले गम्भिरताका साथलिर्ई आन्तरिक छलफल, सहमति र सहकार्यको माध्यमबाट समस्याको समधान गरी देशलाई निकास र विकास तर्फ अघि बढ्न अति आवश्यक छ ।

नेपाली–नेपाली वीच काट्मार

जति हामी नेपाली भनेर आत्मगौरव गरे पनि आज नेपाली–नेपाली वीच दिन–दिनै वितृष्णा बढ्दै गएको छ । एक अर्कावीच विश्वासीलो बन्न सकेका छैनौं । आफ्नो हक अधिकार प्राप्तीको लागि अरुको हक अधिकारलाई बञ्चित गरेका छौं । देशभर नेपाली–नेपाली वीच हत्या हिंसा र काट्मार चलिरहेको छ । उदाहरणकै रुपमा हेर्ने हो भने सिङ्गो विशाल नेपाल निर्माण देखि अहिलेसम्म लाखौं–लाख नेपालीहरुले कहिले देशको लागि त कहिले अधिकारको लागि ज्यान गुमाउनु परेको छ । युगान्तकारी परिवर्तनमा अक्कल–झुक्कलमा केही मानिसहरुको मत्युलाई पनि स्वाभाविकै मानिन्छ तर ‘मर्नु भन्दैमा मर्न पनि जान्नु पर्दछ ।’ विना कारण राज्य पक्षबाट होस वा विद्रोही पक्षबाट दोहोरो मुठ्भेटको नाममा निर्दोष नागरिकले ज्यान गुमाउनु परेको छ । हाम्रो समाज यति दर्दनाक बनेको छ की, यस्तो होला भनेर कसैले पनि कल्पना समेत गरेका थिएन् । नेपाली भएकै कारण जुन ठाउँमा जो जहाँ रहेको पनि त्यही ठाउँमा असुरक्षित भएका छौं । मानवता, आत्मियता, माया, ममता, भाईचारा, सद्भाव, नातागोता सवै विस्तारै–विस्तारै समाप्त हुदै गईरेहेको अवस्था छ । पूरै देश दण्डहिनता तिर अघि बढीरहको छ । आफ्नो माग पुरा गराउनको लागि सयौं दिन बन्द हड्ताल गरिने गरिएको छ । हुदा–हुदा देश भित्रमात्र नभएर भारतको भूमिमा गएर नेपालीले नेपालीलाई नै ढुङ्गा मुढा हान्ने जस्ता घृणित कुकार्यहरु हाम्रै अगाडी भईरहेका छन ।

परिर्वनको नाममा भौतिक संरचना पूर्ण रुपमा नष्ट

प्राकृतिक प्रकोप होस् वा मानव प्राणीले देशमा भएका सवै भौतिक संरचनाहरु ध्वस्त बनाईरहेका छन । परिर्वतनको नाममा पुर्खाले बनाएका सवै संरचनाहरु दिनमा दुई गुणा र रातमा चौणुणा विनास गरिदै आएको छ । गाउँ घरका पार्टी पौवादेखि सवै पुराना संरचनाहरु ध्वस्त गरिएका छन । ऐतिहासिक र पुराना संरचनाहरु संरक्षणको अभावमा छट्पट्टी रहेका छन । काही कतै बचेका संरचना पनि भग्नावशेष अवस्थामा रहेका छन । नेपाली भाषाको उद्मस्थल र यथेस्ट प्रमाणको रुपमा रहेका शिला लेख त्यसको महत्व नबुझि नागरिकले हसिँया उदाउने ढुङ्गाको रुपमा प्रयोग गरिरहेका छन । ती शिला–ढुङ्गामा पशु चौपायहरुलाई बाधि घाँस खुवाउने स्थानको रुपमा प्रयोग भइरहेका छन । सयम अनुसार कुनै पनि संरचनाहरुको पुनः निर्माण गरिनु हुदैन भनिएको पनि हैन किन भने आधुनिक जवाना र प्रविधिसँगै परिवर्तन हुदुपर्दछ तर ‘पहिचान र अस्तित्व नै मेटिने गरी परिर्वतन गरिनु हुदैन भन्ने हो ।’ यस तर्फ राज्यले ध्यान पु¥याउन र नागरिकले आफ्नो कर्तब्य विर्सिएका छौं ।

प्राकृतिक स्रोत साधनको विनास

नेपाल जलस्रोतले विश्वको द्रोसो धनी देश हो । यहाँ प्राकृतिक स्रोत साधनको अनुपम भण्डारको खानी छ । यहाँ अनगिन्ती बहुमल्य बस्तुहरु पुस्तौ–पुस्तासम्म माटोमूनि दविएर रहेका छन । जुन स्रोत साधनलाई उत्खनन् गर्ने हो भने नेपाल विश्वमै नम्बर एक बन्न सक्ने सम्भावनाहरुको आंकलन गरिएको छ, ती स्रोत साधन उपयोग गर्नको लागि राज्यले कुनै पनि प्रकारको पहल गरेको देखिदैन । राज्यले सवै काम एकै पटक नगरी एउटा विद्युतमात्र उत्पादन गर्ने हो भने नेपाल यस्तो देश बन्ने छ, ‘चौविसै घन्टा सूर्य चम्के जस्तै नेपाल चम्की रहने छ ।’ प्राकृतिक स्रोत साधनको कुरा गर्ने हो भने नूनदेखि सुनसम्म हाम्रै देशमा छ । पछिल्लो समयमा नेपालका रहेका जतिपनि प्राकृतिक स्रोत साधन छन ती स्रोत साधन अवैध रुपमा चोरी पैठारी हुने गरेका छन ।

राज्य सञ्चालहरुले सत्ता स्वार्थमा रहेर देशलाई घात हुने विभिन्न किसिमका सन्धी–सम्झौता गरिदै आईरहेका छन । त्यो सवैभन्दा पहिला नेपालको जलस्रोत र दोस्रो नेपालको भूमि र प्राकृतिक स्रोत साधन लेखदेनको सन्धी–सम्झौता सवैभन्दा बढी देशको लागि राष्ट्रघात हुन पुगेका छन । नेपालको गौरवपूर्ण इतिहास बोकेको, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरीपूर्ण सुन्दर शान्त भूमिमा अन्य देशहरुले विखण्डन गरी आफ्नो स्वार्थ पूर्ति गरिरहेका छन । यसरी नेपालमा छरिएर रहेका प्राकृतिक स्रोत साधनको आफै उत्खनन् र प्रयोग गरी देशलाई समृद्धी बनाउनुको साटो अन्य देशका बहुराष्ट्रिय कम्पनी कसरी भित्राउने र मोटो रकम कुन तरिकाले कुम्ल्याउन सकिन्छ भन्ने होडवाजी चलिरहेको छ ।

अन्त्यमा

यस्ता विभिन्न विषय वस्तुहरुमाथि कलम चलाउँदै जाने हो भने यहाँ दिन रात वितेको समेत थाहा हुदैन । यस्तै–यस्तै समस्याले गर्दा हाम्रो देश विकासको गतिमा अगाडि बढ्ने होइन, झन पछाडि अन्धकारमा धकेलिएको छ । माथि उल्लेख भएका सवै कुराहरुलाई गहिराईसम्म पुगि चिन्तन गर्ने हो भने हाम्रो देशको अवस्था कस्तो रहेछ भन्ने सहजै थाहा पाउन सकिने छ । सधै अरुको भरपर्ने आफै केही गर्न नसक्ने, नेपालीले केही गर्न खोज्यो की केही गर्न पनि नदिने । सानो तिनो समस्या प¥यो की विदेशी सल्लाह सुझाव चाईने । अनि विदेशी हस्तक्षेपलाई टुलु–टुल हेरेर बस्नु बाहेक अरु के नै गरिएको छ र । जुनवेला नेपालीहरुलाई ढुङ्गेयुगका मान्छे भनिन्थ्यो त्यतीवेला बरु हाम्रो आफ्नो राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान थियो । अहिले आधुनिक नेपालको निर्माण र युगान्तकारी परिर्वतनका सम्वाहक भन्नेहरु राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान संकटमा पर्न लागेको समयमा सवै मौन छन । यस्तो अवस्थामा हामीले भन्ने गरेका छौं “हाम्रो नेपाल, हामी स्वाभीमानी” देश असफल राष्ट्रहुने समय आएको अवस्थामा हामी कसरी स्वाभीमानी भएका छौं र कसरी स्वाभीमानी बन्छौं ? यसको खोजी हुन अति आवश्यक छ ।

पछिल्लो समयमा देशको आन्तरिक कलोहका कारणले पनि राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभीमान माथि ठुलो घनाघोर आँच आईरहेको छ । विदेशी घुसपैठको कारण देशमा संक्रमण काल लम्बिरहको छ । यो समयमा देशका सवै राष्ट्रवादी, देशभक्तहरु र आम जनताको उच्चस्तरको सतर्कता तथा ऐक्यवद्धताद्धारा हाम्रो अगाडि खडा भएको खतराबाट देशलाई बचाउन, आत्मनिर्भरता बन्न, सकियो भने हामी आफै स्वाभीमानी हुने छौं । होइन भने हामी सधै अरुको गुलामी बन्ने हो भने हामी के को स्वाभिमानी ? यास्तो समयमा सवैले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभीमान बचाँउन र देशलाई आत्मनिर्भर बनाउन एकजुट हुन सक्यौं भने हाम्रो यहि नै महान काम हुने छ । त्यसपछि हाम्रो नेपाल, हामी नेपाली, राष्ट्र, राष्ट्रियता र स्वाभीमान रहने छ ।

(लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन)
newsdailekh@gmail.com

Loading...

यसमा तपाइको मत