पंचकोशसंगको तादम्यता नहटाएसम्म आत्मज्ञान हुँदैन

प्रा. डा. नारायण कुँवर

हाम्रो वास्तविक स्वरूप शरीर होइन, आत्मा हो | शरीरलाई आफ्नो अस्तित्व ठानेर त्यो सँग तादम्यता गर्नु भ्रम हो | यही भ्रमको कारणले शरीरलाई आत्माको आबारण वा कोश भनिन्छ | शरीरका साथै आत्माका अन्य चार कोश पनि छन् | सबै मिलाएर पंचकोश भनिन्छ | अध्यात्मिक साधनाको मुख्य उदेश्य आत्मज्ञान प्राप्त गरी मुक्त हुनु हो, तर त्यसको लागि सर्वप्रथम पंचकोश सँगको तादाम्यतालाई हटाउनु पर्दछ | पंचकोशको उल्लेख तैत्तिरीयोपनिषद्मा पाइन्छ | आदि शंकराचार्य रचित विवेक चुडामणि र विद्यारन्य स्वामी रचित पंचदशीमा पनि पंचकोशको बारेमा विस्तृत वर्णन पाइन्छ | पंचकोशको छोटकरी विवरण यस प्रकारको छ:

अन्नमय कोश
आत्माको प्रस्ट देखिने आवरण शरीर हो | अन्नबाट बनेको हुनाले यसलाई अन्नमय कोश भनिन्छ | शरीरको सृजना बाउ-आमाले खाएको अन्नको रसबाट भएको हुन्छ र पछि यसको विकास पनि अन्नबाट नै भएको हुन्छ | अन्न प्राप्त नभएमा यो नष्ट भएर जान्छ | मृत्यु पछि पनि यो नष्ट भएर जान्छ |

उमेर अनुसार शरीर परिवर्तन हुँदै जान्छ | बचपनमा भएको शरीर जवानीमा हुँदैन र जवानीमा भएको शरीर बृध्दावास्थामा हुँदैन | फेरी मृत्युमा नष्ट भएको शरीर अर्को जन्ममा प्रकट हुँदैन | प्रत्यक जन्ममा शरीर भिन्न हुन्छ, तर भोग गर्नेवाला हाम्रो स्वरूप भने सधैँ एउटा नै हुन्छ | जन्मनुभन्दा पहिले शरीर हुँदैन, तर हाम्रो अस्तित्वको अभाव भने कहिल्यै हुँदैन | हाम्रो अस्तित्वको अभाव शरीर नहुँदा पनि हुँदैन | त्यसकारण शरीर आत्मा होइन, आत्माको आवरण वा छद्मभेष हो |

प्राणमय कोश
शास्त्र अनुसार बाहिर रहेको बायु शरीर भित्र प्रवेश गरेपछि प्राण बन्दछ र सबै कर्मेन्द्रीय र ज्ञानेन्द्रीयलाई शक्ति प्रदान गर्दछ | प्राणको कार्य शरीरलाई शक्ति प्रदान गर्नु मात्र हो, जीवित राखनु होइन | स्वाँस चलेको कारणले शरीर जीवित रहेको होइन | त्यसको ठिक विपरीत शरीर जीवित रहेकाले स्वाँस चलेको हो | प्राणलाई कुम्भकद्वारा नियन्त्रण गर्न सकिन्छ अर्थात् रोक्न र सुचारु गर्न सकिन्छ | नियन्त्रण पनि गर्न सकिने हुनाले प्राण चेतना होइन र चेतना नहुने कुरा आत्म हुन सक्तैन | त्यसकारण प्राण आत्मा नभएर आत्माको आर्को छद्मभेष मात्र हो |

मनमय कोश
मन पनि आत्माको आवरण हो | मनको चेतना छ तर त्यो चेतना स्वाभाविक नभएर चेतनस्वरूप आत्माको प्रतिबिम्ब मात्र हो | आत्माको प्रकाश शरीरमा प्रतिबिम्बित भएपछि मनको रूपमा प्रकट हुन्छ | पाँच ज्ञानेन्द्रीय मार्फत मनले रूप, रस, गन्ध, शब्द र स्पर्श गरी पाँच विषयको जानकारी लिने हुँदा ज्ञानेन्द्रीय र मन मिलेर मनमय कोश बनेको हुन्छ |

आत्माको आदि र अन्त्य छैन, तर मन भने आकाशमा बादल जस्तै क्षण-क्षणमा बदलिरहन्छ | बादल जस्तै यसको प्रारम्भ र अन्त्यको कुनै निश्चित हुँदैन | आत्माको एउटा आयाम चेतनस्वरूप हो भने आर्को आयाम आनन्दस्वरूप हो, तर मन सुखी र दु:खि भइरहन्छ | आत्मा बिषयी (ज्ञाता) हो, तर मन बिषयी नभएर जान्नेको विषय हो | यी सबै कारणले मन पनि आत्मा होइन |

बिज्ञानमय कोश
मन विषयको जानकारी प्राप्त गर्ने उपकरण हो | कुनै विषय बिक्षप बनेमा अर्थात् इच्छाको रूपमा प्रकट भएमा मनोवृत्ति बन्दछ | मनोवृत्ति सधैँ बहर्मुखी हुन्छ | बहर्मुखी मनोवृत्तिमा प्रतिबिम्बित चेतनाको प्रकाश घना हुन्छ | प्रतिबिम्बित त्यो घना प्रकाश नै ‘म’ वा ‘अहंता’ हो | त्यो ‘म’ आत्मा होइन, आत्माको छद्मभेष हो | यस छद्मभेषलाई विज्ञानमय कोश भनिन्छ |

जागृत अवस्थामा बिज्ञानमय कोशले पैतलादेखि सिरसम्म व्याप्त भएर ‘अहंता’ प्रकट गर्दछ, तर सुषुप्ति अवस्थामा भने सबैतिरबाट हटेर आफ्नो बिजाबस्थामा गएर बस्दछ | सुषुप्ति अवस्थामा मनोवृत्तिको अभावमा प्रतिबिम्बित चेतनाको प्रकाश नहुँदा ‘म’ वा ‘अहंता’ हुँदैन | मन शान्त भएको अवस्थामा पनि मनोवृत्ति नहुने हुँदा ‘अहंता’ हुँदैन |

विज्ञानमय कोशले मनको विभिन्न अनुभबसंग तादम्यता गरेर कर्तापन वा कर्तित्वभिमान गर्दछ अर्थात् म नै कर्ता हुँ भन्दछ | मनमय कोशसंग तादम्यता गरेर सुख-दु:खको, प्राणमय कोशसंग तादम्यता गरेर भोक र प्यासको, शरिरसंग तादम्यता गरेर जवानी, बृध्दाबस्था, स्त्री, पुरुष, इत्यादिको अनुभव गरेर कर्तित्वभिमान गर्दछ |

बिज्ञानमय कोश आत्माको धेरै नजिक रहेकाले आत्माको प्रकाश पाएर एकदम ज्ञानामय हुन्छ | त्यसैले यसले आत्म्बुध्दी गरेर, म नै आत्मा हुँ भनेर आत्माको छद्मभेष बन्दछ | बिज्ञानमय कोश चेतनाको प्रतिबिम्बित प्रकाश मात्र हो, वास्तविक प्रकाश होइन | प्रतिबिम्बित प्रकाश प्रकट, अप्रकट भैरहने हुनाले बिज्ञानमय कोश आत्म हुन सक्तैन |

आनन्दमय कोश
आत्माको विभिन्न आयामहरू मध्य एउटा मुख्य आयाम आनन्द पनि हो | यही कारणले आत्मज्ञान प्राप्त व्यक्तिलाई सधैँ अकारण आनन्दको अनुभूति भैरहेको हुन्छ | आनन्द आत्माको आयाम भएता पनि अनकुल परिस्थिति अनुसार क्षणभर वा छोटो अवधिको लागि हुने आनन्द आत्माको आयाम होइन | जब विषयवस्तुको इच्छा पुरा भएर भोग शान्त हुन्छ तब वृत्तिहरु अन्तर्मुखी हुन्छन् | त्यस्तो अवस्थामा प्रतिबिम्बित चेतनाको प्रकाश आनन्दमय हुन्छ र व्यक्तिलाई आनन्दको अनुभूति हुन्छ | त्यस्तो आनन्द केही समयको लागि मात्र अनुभव हुन्छ | अर्को विषयवस्तुको इच्छाले वृत्तिहरु फेरी बहर्मुखी हुनासाथ त्यो आनन्द हराउँछ | निद्रामा पनि वृत्तिहरु अन्तर्मुखी हुनाले मन शान्त हुन्छ | आत्माको आनन्द भने परिस्थिति निरपेक्ष हुन्छ, अकारण हुन्छ र नित्य हुन्छ | परिस्थिति अनकुलको क्षणिक आनन्द आत्मज्ञान होइन, आत्माको आवरण वा छद्मभेष हो |

कुनै व्यक्तिलाई उसको पूर्व जन्मको पुन्यकार्यको फलले गर्दा पनि बेला-मौकामा अकारण आनन्दको अनुभव भएको हुन्छ, तर त्यो आनन्द पनि पूर्व जन्मको पुन्यकार्यको फलको कारणले भएको हुनाले आत्माको स्वाभाविक आनन्द होइन | त्यस्तो आनन्द पनि आनन्दमय कोश नै हो |
सबभन्दा बढी हाम्रो तादम्यता शरीरसंग हुन्छ | नारीहरूको बढी तादम्यता शरीरसंग हुन्छ भने पुरुषहरुको बढी तादम्यता बिज्ञानमय कोशसंग हुन्छ अर्थात् पुरुषहरुको अहंता र कर्तित्वभिमान नारीहरूको भन्दा बढी हुन्छ | शास्त्र भन्छ शरीरलाई आफ्नो स्वरूप ठान्नु महापाप हो:

देहात्मबुध्दिजं पाप्ं न तदगोबधकोटिभि ।
आत्माहं बुध्दिजं पुन्यं नभुतं न भबिष्यति ।।

अर्थात् म शरीर हुँ भन्दा जति पाप लाग्दछ, त्यति पाप कोटि गोबोध गरे पनि लाग्दैन । म आत्मा हुँ भन्दा जति पुन्य मिल्दछ, त्यति पुन्य पहिले पनि भएको थिएन र पछि पनि हुने छैन । शास्त्र अनुससार कर्तित्वभिमान रहेसम्म पनि जन्म-मरण चक्र चलिरहन्छ |

ध्यान र बेदान्तको चिन्तन-मननद्वारा मात्र पंचकोशसंगको तादम्यतालाई हटाउन सकिन्छ | त्यसपछि मात्र आफ्नो स्वरूपको ज्ञान हुन्छ | ओशोधराको एउटा ध्यान समाधि कार्यक्रममा स्थूल शरीरबाट छुट्टिने अनुभव गराइन्छ | त्यस्तो अनुभवबाट अन्नबाट निर्मित स्थूल शरीर आफ्नो वास्तविक स्वरूप होइनरहेछ भन्ने कुरा प्रस्ट हुन्छ जसबाट देहात्माभाव अर्थात् शरीरसंगको तादम्यता हटेर जान्छ | बेदान्तको चिन्तन-मननको लागि शास्त्रको अध्यनका साथै ब्रह्मज्ञानी गुरुको निर्देशनमा साधना गर्नु पर्दछ |

Published on August 8, 2016 at 4:28 am

Loading...

यसमा तपाइको मत